बझाङ- बझाङमा १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुङ्गल नगरपालिकाले जितेको छ । केदारस्युँ गाउँपालिकाको झोतामा सञ्चालित प्रतियोगितामा १३ स्वर्ण र २ रजतसहित बुङ्गलले उपाधि जितेको हो ।

प्रतियोगितामा केदारस्युँ ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक जित्दै दोस्रो बनेको छ भने जयपृथ्वी नगरपालिका ४ स्वर्ण, ६ रजत र ४ कास्यसहित तेस्रो भएको छ ।

खप्तडछान्ना गाउँपालिकाले २ स्वर्ण ४ रजत र २ कास्य जितेको छ । थलारा गाउँपालिकाले १ स्वर्ण ३ रजत, छबिसपाथीभेरा गाउँपालिकाले १ स्वर्ण, २ रजत, ८ कास्य, बित्थडचिरले १ स्वर्ण, २ रजत, ३ कास्य, दुर्गाथलीले १ स्वर्ण, १ रजत, ५ कास्य, सुर्माले १ स्वर्ण, २ कास्य, तल्कोटले २ रजत, मष्टाले १ रजत १ कास्य र साइपालले १ रजत जितेको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए । प्रतियोगिताका विजेतालाई आज शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
जिल्ला खेलकुद समितिका अध्यक्ष रोकायाका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन् । प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ ।


















