खाेज्नुहाेस

गोदावरीको पर्यटकीय स्थल शिवकुण्डमा पूर्वाधारको अभाव

Image

अत्तरिया – कैलालीको शिवकुण्डमा पर्यटकको आकर्षण बढ्दै गएको भएपनि पूर्वाधारको अभाव रहेको छ । गोदावरी नगरपालिका – ९ भल्कामा पर्ने शिवकुण्डमा विकासका न्यूनतम पूर्वाधार पनि छैनन् । माघी र बिदाका दिनहरूमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक भल्का पुग्ने गरेका भएपनि सडक, विजुली, खानेपानी, शौचालय जस्ता आधारभूत विकासका पूर्वाधार नभएको भल्का व्यवस्थापन समितिका अध्यक्ष अजय चौधरीले बताए । उनले बिदाका दिनमा मानिसहर भल्कामा पिकनिक मनाउन आउने गरेका भएपनि शौचालय समेत नहुँदा समस्या हुने गरेको बताए ।

पूर्वपश्चिम राजमार्गको स्याउलेबाट करिब दुई किलोमिटर दक्षिणमा पर्ने शिवकुण्डमा माघी, औंसी, पूर्णिमामा स्नान गरिन्छ भने अन्य दिनहरूमा रमाइलो गर्न, पिकनिक गर्नेको भिड लाग्ने गर्छ । भल्कामा जमिनबाट आफै पानी आउने भएकाले यसमा दैविक शक्ति रहेको मान्यता छ । जमिनबाट आफै पानी आउने भएकाले स्थानीयले यसलाई भल्का भन्ने गरिएको स्थानीय बताउँछन । पानी आउने स्थानमा पानीका फोका (भल्का) आउने भएकाले भल्का नाम राखिएको र पछि सोही स्थानमा शिव मन्दिर निर्माण गरी शिवकुण्ड नाम राखिएको वडा नम्बर ९ का वडाध्यक्ष रामलाल रानाले बताए । उनले हाल मन्दिर सँगै शिवकुण्ड संरक्षणको लागि ढुङ्गाको पर्खाल निर्माण गरिनु बाहेक अन्य पूर्वाधार केही पनि नभएको बताए ।

attariya hospital

navjiwan hospital

‘यहाँ पर्यटकको राम्रो सम्भावना भएकाले यसमा अलि ठूलो लगानी गरि पूर्वाधार निर्माण गर्न आवश्यक छ’ उनले भने ‘यो निकै रमणीय ठाउँ भएकाले यहाँ आउने पर्यटकका लागि प्रदेश सरकार र संघीय सरकारले पूर्वाधार निर्माण गरिदिए यो क्षेत्र कैलालीको पर्यटकीय क्षेत्रका रुपमा विकास हुन्छ ।’ उनले भल्कामा पुग्नको लागि बाटोको नै समस्या भएकाले बताए । उनले दशैँ तिहारको समयमा भल्का क्षेत्रमा पिकनिक गर्नेको भिड लाग्ने गरेको बताए ।

भल्का व्यवस्थापन समितिका अध्यक्ष चौधरीले पिकनिक मनाउन आउनेहरुका लागि पानीको पनि समस्या हुने गरेको बताए । उनले मोटर जडान गरेर पानी निकाल्नको लागि विजुली नै नहुँदा समस्या भएको बताए । उनले भल्काको समग्र विकासका लागि डिपिआर बनाएर काम गर्न आवश्यक रहेको बताए । ‘नगरपालिकाले यसको डिपिआर बनाइदिएको भए काम गर्न र बजेट माग गर्न सहज हुने थियो’ उनले भने ‘अहिले समिति मार्फत सामान्य सरसफाइ रंगरोपनका लागि पिकनिक मनाउन आउनेहरुबाट शुल्क लिने गरेका छौ । त्यो रकमबाट सरसफाइ गरिन्छ ।’
पिकनिक बनाउन आउँनेको संख्या धेरै भए पनि आवश्यक पूर्वाधारको अभाव र फोहोर व्यवस्थापनको कमीका कारण सो क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । सो क्षेत्रमा हाल फोहर संकलन गर्ने डस्टबिन सम्म राखिएका छैनन ।

पिकनिकका लागि आउँनेहरूले फाल्ने प्लाष्टिक, मादक पदार्थका बोतल, खसीबोका तथा कुखुराको रौं जथाभावी फल्ने गर्दा सो क्षेत्र दुर्गन्धित बन्न थालेको छ । लक्ष्मी सामुदायिक वनमा पर्ने उक्त क्षेत्रको विकासका लागि सरकारले चासो दिनुपर्ने स्थानीय रामलाल चौधरीले बताए । उनले पछिल्लो समय भल्कामा आउने पर्यटकका कारण स्थानीय धेरैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयआर्जन गर्न पाएकाले यसको विकास गर्न सके स्थानीयलाई पनि फाइदा पुग्ने बताए ।