काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरिएको छ । धर्मको बारेमा मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ सङ्गठन नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आज प्रदर्शन गरेको हो ।

हिजो बुधवार भएको एक कार्यक्रममा मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित सङ्घ–संस्थाले विरोध जनाएका छन् ।


तर, मन्त्री किरातीले आज सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै धर्मनिरपेक्ष देशमा सबै धर्म बराबर हुने आफ्नो अभिव्यक्तिको आशय रहेको बताएका छन् । उनले भाषणलाई तोडमोड नगर्न आग्रह गर्दै संविधानले नै देशलाई धर्मनिरपेक्ष घोषणा गरेको सन्दर्भमा कुनै धर्मप्रति घृणा फैलाउन नहुनेमा आफ्नो जोड रहेको बताएका छन् ।















