शिवजी मण्डेल/बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–९ का भूकम्प प्रभावित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । वडा कार्यालयमा आइतबार एक कार्यक्रमका बीच असोज १६ गते गएको भूकम्प प्रभावित ३७ परिवारलाई न्यानो लुगा वितरण गरिएको हो ।
भूकम्प प्रभावित आर्थिक अवस्था कमजोर भएका विपन्न एकल महिला अपांगता भएका र दलित गरी ३७ घरपरिवारलाई बलाङ्केट ज्याकेट, टोपी, मोजा, सल, पि–फम वितरण गरिएको प्रगतिशील युवा समाज केदारस्युँ गाउँपालिका – १ बालसंरक्षण परियोजनाकी फिल्ड सामाजिक परिचालक शान्ति भण्डारीले बताइन ।


उनका अनुसार लुगाकपडा वितरण कार्यक्रममा वडाध्यक्ष नन्दलाल बोहरा, पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारको उपस्थिति रहेको थियोे ।
भूकम्पबाट प्रभावित भएका परिवारलाई जाडोबाट बचाउने उदेश्यले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित प्रगतिशील युवा समाज चैनपुर बझाङको सहकार्यमा केदारस्यु गाउँपालिका भूकम्प प्रभावित प्रति परिवारलाई ८ हजार ७ सय ७१ रुपैयाँ बराबरको न्यानो लुगा वितरण गरिएको प्रगतिशील युवा समाज केदारस्युँ शिक्षा अधिकृत दिनेश खड्काले बताए ।
उनले गाउँपालिका भरिका भूकम्प प्रभावित आर्थिक अवस्था कमजोर भएका २ सय परिवारलाई न्यानो लुगा वितरण गरिएको बताएका छन । त्यस्तै जयपृथ्वी नगरपालिकाका भूकम्प प्रभावित १ सय परिवारलाई पनि उक्त सामाग्री वितरण गरिएको जनाइएको छ ।
















