खाेज्नुहाेस

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

Image

कैलाली – चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।

सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

attariya hospital

दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनको भनाइ छ । राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ ।

navjiwan hospital

दरबारभित्र सुरुङसमेत बनाइएको छ । सुरुङ अहिले पुरिएको छ । राणाहरु खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन । चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उनको भनाइ छ ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख आव २०७६÷७७ मा रु ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताए। उनले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको बताए ।

रासस