काठमाडौँ- परराष्ट्र मन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले बताए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् ।


भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका थिए ।


















