अत्तरिया – होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको कैलालीको अत्तरियामा स्वागत गरिएको छ । सोमबार गोदावरी होटल व्यवसायी संघको आयोजनामा खप्तड घुम्न आएका चुकेको स्वागत गरिएको हो ।
अध्यक्ष चुकेले आन्तरिक पर्यटनलाई बढावा दिन आफू सुदूरपश्चिम भ्रमणमा आएको बताए । उनले पर्यटन व्यवसायलार्य बढावा दिनको लागि आन्तरिक पर्यटन विकासमा जोड दिन आवश्यक रहेको बताए ।

‘आन्तरिक पर्यटनबाट नै अहिले होटल तथा अन्य पर्यटन व्यवसाय संचालनमा छन’ उनले भने ‘बिभिन्न माध्यमहरुलाई प्रयोग गरेर आन्तरिक पर्यटनलाई बढावा दिन आवश्यक छ ।’ उनले सुदूरपश्चिममा अहिले पर्यटन विकासको लागि पुर्वाधारको राम्रो विकास भएकाले यसलाई प्रचारप्रसार गरेर पर्यटन क्षेत्रलाई बढावा दिन सकिने बताए ।

उनले भने ‘म २०५० सालमा सुदूरपश्चिम आएको थिए । त्यो समयको तुलनामा अहिले बाटोघाटो लगायत पर्यटनका धेरै पुर्वाधार विकास भइसकेको रहेछ ।’
उनले खप्तडमा भने पुर्वाधार विकासको आवश्यकता रहेको बताए । उनले ठूलो संख्यामा पर्यटन खप्तडमा पुगे खानाबस्नको समस्या हुने भएकाले त्यसमा राज्यको ध्यान पुग्नुपर्ने बताए । उनले खप्तडको विकास गर्न सकेमा मात्रै समग्र सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पुग्ने बताए ।
उनले होटल व्यवसायीले पर्यटनको आवश्यकता अनुसार सेवा दिन सके पर्यटन व्यवसाय फस्टाउन मदत पुग्ने बताए । स्वागत कार्यक्रममा भरतपुर भ्रमण बर्ष २०२४ का सहसंयोजक समेत रहेका चुकेले सहभागिलाई भरतपुर भ्रमणको लागि निम्तो दिएका थिए ।
स्वागत कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार प्रमानन्द भण्डारी, होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष धना चोखाल, होटल तथा पर्यटन व्यवसायी संघका सचिव कलम बहादुर बम, होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य राजेन्द्र बिक्रम शाही, राधिका लम्साल, सल्लाहकार मनिषा खत्री, होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रमेश प्रशाद जोशी, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डेय, लगायतको सहभागिता रहेको थियो ।


















