अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले गेटामा कम्तीमा ३ सय शैय्याको अस्पताल संचालन गरेर विश्वविद्यालयका रुपमा संचालन गरिनुपर्ने बताएका छन् ।
आइतबार अत्तरिया उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभाको उद्घाटन गर्दै भट्टले आर्थीक मन्दीका कारण तत्काल ६ सय शैय्याको अस्पताल संचालन गर्न नसकिएपनि कम्तीमा ३ सय शैय्याबाट सुरु गरिनुपर्ने बताए ।


‘अहिले यहाँ ६ सय शैय्याको अस्पताल चलाउन सक्ने अवस्था छ । आर्थीक मन्दिले १ सय शैय्याको अस्पताल चलाउने भनिएको छ । १ सय शैय्याको अस्पताल त धनगढीमा छदैछ’ उनले भने ‘त्यसैले यहाँ ६ सय शैय्याको नसकेपनि ५ सय, ४ सय या कम्तीमा ३ सय शैय्याबाट सुरु गरेर यसलाई विश्वविद्यालयको रुपमा अगाडी बढाउनु पर्छ ।’
उनले संघिय सरकार गेटामा विश्वविद्यालय बनाउने भनेर सुसुप्त अवस्थामा बसेको बताए । ‘सरकारले गेटामा विश्वविद्यालय विश्वविद्यालय बनाउने भनेर मन्त्रीपरिषदबाट निर्णय गरेको छ’ उनले प्रश्न गरे ‘अहिले सरकार किन सुसुप्त अवस्थामा बसेको छ ? कि सुदूरपश्चिम भनेर हेपेको हो ?’
उनले सुदूरपश्चिमको जनताले सहज तरिकाले शिक्षा र स्वास्थ्यमा पहुँच पाउनको लागि छिटो भन्दा छिटो गेटामा विश्वविद्यालय संचालन गरिनुपर्ने बताए । उनले गेटामा विश्वविद्यालय संचालनका लागि सबैले लाग्न आवश्यक रहेको बताए ।

















