खाेज्नुहाेस

किर्ते हाजिर गरेर तलब खादै बझाङको काप्रीगाउँ स्वास्थ्य केन्द्रका कर्मचारी

Image

कल्पना उपाध्याय/बझाङ – बझाङको छविसपाथिभेरा गाउँपालिका – १ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही गरेको पाइएको छ । स्वास्थ्यचौकीका कर्मचारीहरुले कहिलेकाहिँ हप्ता दिनमा मनोमानीस्वास्थ्यचौकी खोल्ने र कार्यालय समय नबित्दै बन्द गर्ने गरेका हुन ।

२०७३ सालमा स्थापना भएको सामुदायिक स्वास्थ्य केन्द्रको नयाँ भवन प्रदेश सरकारको २१ लाख र संघ सरकारको ३९ लाख गरेर ६० लाखको लागतमा गत वर्ष मात्रै निमार्ण गरिएको थियो । स्वास्थ्य केन्द्रमा स्थापना भएदेखि नै एक अनमी, एक अहेव र एक कार्यलय सहयोगी गरेर तिनजना कर्मचारीहरु कार्यरत रहेका छन् । अहेव उमेश कठायतले दुई वर्ष अघि नै आफैले मेडिकल सञ्चालन गरेको हुनाले स्वास्थ्यचौकीको कामकाज छोडी सकेका छन् । अनमी भूमिका सिहँपनि कहिलेकाहिँ जाने र दिउँसो नै बन्द गरेर फर्किने गर्छिन ।

attariya hospital

सिहँले एक्लै स्वास्थ्य केन्द्र धान्न मुस्किल भएकाले अप्ठ्यारो भएको बताएकि छन् । स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समित अध्यक्षकि बुहारी समेत रहेकि कार्यालय सहयोगि विष्ना जोशी पनि फुर्सदमा कार्यालय खोल्ने गर्छिन । स्वास्थ्य केन्द्र नियमित किन खोल्नुहुन्न ? भन्ने प्रश्नमा उनले गैर जिम्मेवार अभिव्यक्ति दिदै यो विषयमा तपाइलाई किन चासो ? मान्छे चिनेर खोजतलास गर्नु नत्र पछि नराम्रो होला भनेर धम्कि समेत दिएकि छन् ।

भौगोलिक रुपमा निकै विकट रहेको काप्रिगाउँमा ४५ जोशी परिवारको बसोबास रहेको छ । विकासको पुर्वाधारको नाममै गाउँमा एक स्वास्थ्यचौकी रहेको र त्यहिँपनि नियमित नखुल्दा सिटामोल पनि पाउन मुस्किल रहेको स्थानियको गुनासो छ । ‘हामीले सामान्य उपचारको लागि पनि दुई घण्टा पैदल हिडेर बगडगाउँको मटेला स्वास्थ्यचौकी पुग्नुपर्छ, गाउँको स्वास्थ्यचौकी कहिल्यै खोल्दैनन’ स्थानीय बिन्दु जोशीले भनिन् ‘मटेला स्वास्थ्यचौकीमा पनि काप्रीगाउँ घर भनेपछि ओैषधी दिन मान्दैनन्, तिमिहरुको गाउँमा किन माग्दैनौ भनेर थर्काउने गर्छन । गाउँमै स्वास्थ्यचौकी स्थापना भएको आठ वर्ष भएपनि आफुहरु आधारभुत स्वास्थ्यसेवाबाट बञ्चित हुनुपरेको स्थानियको गुनासो छ ।

navjiwan hospital

स्वास्थ्य केन्द्रका अहेव कठायतले स्वास्थ्य केन्द्र घरबाट टाढा रहेको, शौचालय, खानेपानीको व्यवस्था नभएको र तलबको समेत राम्रो सुविधा नभएकाले काममा जान छोडेको बताएका छन् । आफ्नै मेडिकल चलाउदै आएका कठाएतले स्वास्थ्यकेन्द्रमा काम गर्न छोडेको दुई वर्ष बितेपनि गाउँपालिकाले नियमित तलब दिने गरेको छ ।

यता स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समित अध्यक्ष प्रयागराज जोशीले अहेव कठायतले किर्ते हाजिर गरेर तलब लिने गरेको कुरामा आफु जानकार रहेको बताएका छन् । उनले यो विषयमा आफुले गाउँपालिकामा पटक पटक कुरा उठाएको भएपनि आफ्नो कुरालाई व्यवास्था गर्ने गरेको बताए । उनले भने ‘गाउँपालिकाका निवर्तमान अध्यक्ष अक्कल धामि हुँदा देखिनै नयाँ कर्मचारी नियुक्त गर्न आग्रह गरे, अहेव कठायत जनप्रतिनिधिको आफन्त पर्ने भएकाले नै अहिलेसम्म मेरो कुरा व्यवास्था गरीयो, अब पनि यस्तै अन्याय हुन्छ भने कानुनी प्रक्रियामा जाने सोचमा छु ।’

यो विषयमा गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले भने गाउँपालिकामा सर्वपक्षिय बैठक बोलाएर अहेव कठायतलाई तलब नदिने निर्णय भैसकेको बताए । उनले दुई वर्षसम्म कर्मचारीलाई सुध्रिने मौका दिएको तर मनोमानी गरेपछि बाध्य भएर उक्त निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रष्ट पारे । गाउँमै पनि एउटा कुरामा सहमती नजुट्ने गरेकाले आफुहरुलाई सहजिकरण र व्यवस्थापनमा सहज नभएको अध्यक्ष चलाउनेको भनाई छ ।

सरकारले २०७५ सालमा निशुल्क आधारभूत स्वास्थ्य सेवा पाँच वर्षभित्र सबै नेपालीको पहुँचमा पु-याउने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७९/८० सम्म सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दीर्घकालीन योजनामा पुरा हुन सकेको छैन ।

अझैपनि दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । राजस्व सङ्कलनमा आएको कमीसँगै सरकारले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार घटाएको छ ।