अत्तरिया – कैलालीको गेटामा दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय हुन नदिन मेडिकल माफियाले चलखेल गरेको आंसका गरिएको छ । गेटामा स्वास्थ्य विश्वविद्यालय निर्माणका लागि सघर्ष गरिरहेको समितिले यसअघि सरकारकै विश्वविद्यालय बनाउने निर्णय विपरित एकाएक बजेटमा प्रतिष्ठानका बनाउने योजना मेडिकल माफियाको चलखेलमा आएको बताएका हुन ।
बुधबार संघर्ष समितिले अत्तरियामा आयोजना गरेको छलफलमा सहभागिले गेटामा विश्वविद्यालय हुन नदिन मेडिकल माफियाको इसारामा काम हुन थालेको भन्दै त्यसको विरोधमा सघर्षका कार्यक्रम गर्न सुझाएका थिए ।

स्थानीय पूर्ण खड्काले गेटामा विश्वविद्यालयका लागि सबै काम अगाडी बढ्दा पनि बजेटमा प्रतिष्ठान बनाउने योजना अगाडी सार्नमा मेडिकल माफियाको चलखेल भएको बताए । उनले यस्तो चलखेल रोक्न संघर्षका कार्यक्रम आवश्यक रहेको बताए ।
स्थानीय दिपक भट्टले मेडिकल माफियाको चलखेल रोक्न फरक किसिमको आन्दोलन आवश्यक रहेको बताए । उनले जनतालाई दुःख दिने आन्दोलन भन्दा पनि जनप्रतिनिधि लक्षित कार्यक्रम संचालन गरिनुपर्ने बताए । स्थानीय देव राज ओझाले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै हुनुपर्नेमा जोड दिदै सबैले पार्टी भन्दा माथि उठेर सघर्ष गर्नुपर्ने बताए । उनले स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानमा झार्नको लागि मेडिकल माफिया संग मिलेकाहरुलाई नङ्ग्याउन आवश्यक रहेको बताए ।
स्थानीय शंकर खड्काले सरकारको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरिदा समेत एकाएक बजेटमा प्रतिष्ठानका कुरा उठाउनुका पछाडी मेडिकल माफियाको भूमिका हुनसक्ने बताए ।
स्थानीय पुष्पराज सुबेदीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिए विद्यार्थी आन्दोलनका लागि तयार रहेको बताए । उनले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई झन–झन खस्काउने गरी काम अगाडी बढेकाले आन्दोलनको विकल्प नभएको बताए ।
स्थानीय बिष्णु जोशीले गेटामा यती ठूलो संरचना बनाएर अहिले १०० वेडको अस्पताल बनाएर गर्न के खोजेको भनेर प्रश्न गरे ? उनले हाल सेती अस्पताल नै २५० वेडमा संचालन हुँदा गेटामा विश्वविद्यालय बनाउने संरचना हुँदा पनि१०० वेड मात्रै संचालन गर्न खोज्नु आचर्यजनक भएको बताए ।

स्थानीय पुष्कर जोशीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिन माफिया तन्त्र हाबी भएको बताउँदै यसलाई रोक्न संघर्षमा उत्रिनुको विकल्प नभएको बताए । स्थानीय जयराज फुलाराले आन्दोलनको विकल्प नभएकाले चरनवद्ध आन्दोलन गरिनुपर्ने बताए ।

संघर्ष समितिका सचिव धर्म सिह कुवरले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि जनप्रतिनिधि मार्फत पनि दवावका कार्यक्रम अगाडी बढाइनु पर्ने बताए । समितिका उप–संयोजक आनन्द भट्टले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अगाडी बढेका बेला प्रतिष्ठान बनाउने कुराले जनताको सपना माथि तुसाराघाट भएको बताए । उनले यस्तो हुन नदिन सघर्षका कार्यक्रम आवश्यक रहेको बताए ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डेले आन्दोलनको विकल्प नभएको बताए । उनले राजनीनिक दल भन्दा माथि उठेर यस विषयलाई अगाडी बढाउनुपर्ने बताए । उनले विश्वविद्यालय जबसम्म बन्दैन तबसम्म आफूहरुका सघर्षका कार्यक्रम जारी रहने बताए । उनले प्रतिष्ठान बन्न पनि २ सय बेडको अस्पताल आवश्यक पर्ने भएपनि सरकारले १ सय बेडको मात्रै अस्पताल संचालन गर्ने घोषणा गर्नुबाटै पनि गेटामा मेडिकल माफियाको इसारामा काम भएको प्रष्ट बुझ्न सकिने बताए ।
पूर्व सांसद डा. दिपक भट्टले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनको लागि विधयको ड्राफ्ट तयार भएर अर्थ, कानुन मन्त्रालयमा पुगिसकेको परिपेक्षमा यस क्षेत्रका सांसदकै कारण व्याक भएको बताए । उनले यस क्षेत्रबाट निर्वाचित सांसदले नै विश्वविद्यालय चाहिएन भनेपछि अहिलेको गडबडी भएको बताए ।
‘नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय समेटिएको छ । क्याविनेटबाट निर्णय भएर यसको विधेयक अगाडी बढेको छ’ संघर्ष समितिका सल्लाहकार समेत रहेका भट्टले भने ‘अब १ सय वेडको मेडिकल मात्रै बनाउने कुरा सम्भव छैन ।’ उनले अब गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि यस क्षेत्रका सबै सरोकारवालाहरु संग समन्वय गरेर अगाडी बढ्न आवश्यक रहेको बताए ।

सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषद्को निर्णयबाट गेटामा दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यसअघि गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने भन्दै बिभिन्न सघर्षका कार्यक्रम गरिएका थिए । सोही अनुसारले सरकारले दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर विधेयक बनाउने काम अगाडी बढाएर नीति तथा कार्यक्रममा पनि समेटेको थियो । तर, जेठ १५ गते बजे बजेट भाषणमा दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ सय बेडको अस्पताल संचालन गर्ने घोषणा गरिएको छ ।
उक्त घोषणा पनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सघर्ष गरिरहेकाहरु पुनः आन्दोलित भएका छन । उनीहरुले आगाडी आन्दोलनका कार्यक्रमको बारेमा बुधबार साझ धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने समितिका उप–संयोजक आनन्द भट्टले बताए ।



















