अत्तरिया – नेकपा एमालले ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्ने भएको छ । पार्टीभित्र शुद्धिकरण, सुदृढिकरण गर्नको लागि भोलिदेखि मिसन ग्रासरुट अभियान संचालन गर्न लागिएको एमाले सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले बताएका छन् ।
बिहिबार कैलालीको अत्तरिया आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अभियानको भोलि दिउँसो १२ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौंबाट एकसाथ भर्चुअल बिधिबाट उद्घाटन गर्ने बताए ।

यस अभियानबाट तल्लो स्तरको मनोविज्ञान पनि बुझिने सचिव भट्टले बताए । उनले अभियानमा पार्टीका केन्द्रिय, प्रदेश र जिल्ला स्तरिय नेतालाई अन्तर जिल्ला, अन्तर पालिकामा परिचालन गरिने बताए ।

‘यसका लागि नेतृत्वलाई अन्तर जिल्ला जिम्मेवारी दिइने छ । यसमा निर्वाचन आयोगका सदस्य, केद्रिय सल्लाहकारलाई पनि जोड्ने भनेका छौ । यस्तै प्रदेश सचिवालय सदस्यहरुलाई अन्तर जिल्लामा परिचालन गरिने छ । जिल्ला कमिटिका सदस्यहरुलाई अन्तर पालिकाका रुपमा परिचालन गरिने छ’ उनले भने ‘अन्तर जिल्ला, प्रदेश, पालिकामा परिचालन गरिनुको मुख्य कारण वास्तविक रिपोर्ट आओस् भनेर हो । पार्टीमा कसैलाई केहि भन्नु छ भने स्थानीय नेता संग खुल्न नसक्ने भएपनि अर्को जिल्ला पालिकाबाट आएको संग खुलेर कुरा राख्न सक्ने छन ।’
उनले यस अभियानबाट तिनै तहको निर्वाचनका क्रममा भएका पार्टीलाई अन्तरघात गर्ने व्यक्तिहरुको पहिचान गरेर तल्लो तहबाटै जिल्ला प्रदेश हुँदै केन्द्रमा पठाइने बताए ।
यस अभियानमा कार्यक्रममा पार्टीका नीति विचार पनि प्रसारण गरिने उनले बताए । अभियानको उद्देश्य कार्यकर्ता मार्फत जनतासम्म जाने र त्यहाँको मनोविज्ञानलाई बुझ्ने पनि रहेको उनले बताए ।
अभियान २ महिना सम्म संचालन हुने जनाइएको छ । अभियान बैसाख ९ गते पार्टी स्थापना दिवसका दिन समापन गरिने सचिव भट्टले बताए ।
अभियानमा अभिमुखिकरण पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गर्ने जनाइएको छ । यस्तै अभियानको अनुगमनको जिम्मेवारी सचिव भट्टलाई दिइएको छ ।
अभियानका क्रममा सदस्यता नविकरणको काम पनि भौतिक उपस्थितीमा गरिने सचिव भट्टले बताए । उनले भने ‘अहिले सदस्यको संख्या बढी भएको तर, जसरी पार्टी सक्रिय जसरी हुनुपर्ने हो त्यसरी भएको नदेखिएकाले भौतिक रुपमा सदस्यता नविकरण गर्न लागिएको छ ।’


















