बझाङ – बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो । आइतबार खप्तड पुगेका उनिहरु दुई दिन नबस्दै फर्किए । सोमबारको साँझ डोटीको झिग्रानामा उनिहरुको बास भयो ।
खप्तड घुम्ने समय छुट्याएको टोलीले डोटीको शैलेश्वरी हुँदै डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी, कैलालीको घोडाघोडी ताल हुँदै बर्दियाको ठाकुरद्वारा गएर बिदाको समय सक्यो ।

खप्तडमा साता दिननै योजना बनाएर आएका उनिहरुले खाने, बस्ने समस्या भएको भन्दै बसाइ छोट्याएका थिए । ‘सामाजिक सञ्जालमा खप्तडबारे धेरै नै जानकारी लिएका थियौँ’ पौडेलले भने ‘तस्बिर तथा भिडियोमा खप्तडका सुन्दर फाँटहरू, ढकमक्कै ढाकेका सल्लादेखि समग्र खप्तडको सुन्दरता देखेर २ वर्षअगाडि नै खप्तड जाने सोच बनाएका थियौँ । सबैको समय भने यो पटक मात्रै मिल्यो ।’
पौडेलका अनुसार खप्तडमा प्रकृतिले दिएको सुन्दरताबाहेक अन्य सुविधाको कमी छ । ‘खप्तड सोचेभन्दा सुन्दर छ, तर टिक्न भने एकै दिन पनि मुस्किल हुन्छ । खप्तडको सुन्दरता हेरेर चिसो तथा भोकमा टिक्न सकिँदैन’ उनले भने । खप्तड पुगेपछि पौडेलको टोलीलाई बास पाउनै हम्मेहम्मे भयो । ‘खप्तड पर्यटन क्षेत्र विकास समितिले बनाएको भवनमा २०/२५ जना मात्रै अटाउने रहेछन’ उनले भने ‘बाँकी बस्नलाई ठाउँ नै छैन । चिसो बढ्दै गयो । हामी त फर्किने सोचमा थियौँ । पछि पसलवालाले नेपाली सेनासँग आग्रह गरेर उहाँको पाहुना घरमा बस्यौँ ।’
मोरङका राजनारायण चौधरीको टोली दसैँ र तिहारको बीचमा खप्तड घुम्न आयो । ६ जनाको टोली लिएर आएका चौधरीलाई खप्तड पुगेपछि लेक लाग्न सुरु भयो । टोलीका अन्य सदस्यले बोकेको औषधिले उनि साँझ ब्यारेक गरे र थप उपचार नेपाली सेनाले ब्यारेकमै गरिदियो । ‘खप्तड पुग्न बाटोमा पनि निकै समस्या भयो’ उनले भने ‘ब्यारेक पुगेर भोलिपल्ट सहश्रलिङ्ग जाँदा बाटोमै चार घण्टा अलमलमा प¥यौँ । सिधा बाटो नभएर अन्तै मोडिएछ । साँझ मात्रै होटल पुग्यौँ । सरकारले बाटो राम्रो बनाएको भए त्यस्तो समस्या हुने थिएन ।
चौधरीका अनुसार खप्तडमा राज्यको पर्याप्त लगानी गर्ने हो भने हजारौँको संख्यामा पर्यटक आउँछन् । ‘हामी पुगेको साँझ पनि त्यसै दिन खाली भएको कोठा भेटियो । पछि आउनेहरू त ८ बजेसम्म पनि कोठा खोज्दै थिए । सरकारले खाने, बस्ने व्यवस्था मात्रै गरिदिए हुन्थ्यो’ उनले भने ।

मोरङका रूपेश केसीको टोली पनि तिहारको दोस्रो दिन खप्तड पुग्यो । समाचार पढेकै आधारमा खप्तड पुगेका उनिहरु खप्तडमा दैनिक २ घण्टा ध्यान गर्ने तयारीका साथ आएका थिए । ‘स्वर्गजस्तो ठाउँमा ध्यान गर्न पाए बडो आनन्द आउँछ भन्ने सोचले खप्तड आइयो । यता खाना, बस्नैको समस्या रहेछ’ उनले भने ।
भोलिपल्टै बझाङ हुँदै तराई झरेको उनले सुनाए । ‘सरकारले लगानी गर्नुपर्ने ठाउँमा केही नगरेको देखियो,’ उनले भने ‘खप्तड जाने गतिलो बाटो र खाने, बस्ने होटलको व्यवस्था गरेको भए राज्यले करोडौँ रूपैयाँसम्म कर उठाउने गरी पर्यटकको ओइरो लाग्थ्यो । तर खप्तडमा राज्यले लगानी नै नगरेको देखियो ।’
खप्तड भ्रमणमा आएका काभ्रेपलाञ्चोक पाँचखालका जीवन नेपालको टोलीलाई भने खप्तडमा राम्रै भयो । उनको टोली खप्तडमा चार दिन बस्यो । उनले भने ‘धेरै साथीहरूलाई खान, बस्नको समस्या भएर दोस्रो दिन निस्किए । हामीले भने तीन कोठा सुरुमै रिजर्भ गरेको हुँदा त्यस्तो समस्या भएन । जे होस् पूरै खप्तड घुमियो ।’ नेपालको टोलीसँगसँगै आएको अर्को टोली भने खप्तडमा दुई/चार ठाउँ घुमेर त्यसै दिन फर्कियो । नेपालले भने ‘उहाँहरूले कोठा पाउनुभएन । अन्त बस्न पनि केही नभएपछि त्यसै दिन फर्किनुभयो ।’
खप्तडमा आएर अलपत्र परेका पर्यटकलाई मानवीय सहायता गरेर बस्न दिनु परेको श्री सिंह सार्दूल गुल्मका गुल्मपति विनोदबहादुर सिल्वालले बताए । ‘खप्तडमा सयौँको संख्यामा पर्यटक आउनुहुन्छ, पर्यटन क्षेत्र विकास समितिको होटलमा २५ जनालाई मात्र ठाउँ हुन्छ । त्यसपछि हामीलाई भन्नुहुन्छ, खप्तडको जाडोमा बाहिरै सुत्नुभन्दा मानवीय सहायता गर्नैप¥यो’ उनले भने ‘पर्यटकको व्यवस्था गर्ने हामीले त होइन, छुट्टै निकायहरू छन् । हामीले त सुरक्षा दिने हो । तर, राति, मध्यराति बास नपाएर आउनुहुन्छ, अनि हामीले सकेजति सहयोग गर्नैप¥यो ।’
खप्तडमा नेपाली सेनाले बस्नका लागि मात्रै होइन, हजारौँको निःशुल्क उपचार पनि गरिरहेको छ । खप्तडमा बाटो हिँड्न बटुवादेखि घुम्न आएका पर्यटकको उपचार नेपाली सेनाले गरिरहेको उनले बताए । ‘बिरामी भएर आउनुहुन्छ, खप्तडमा लेक लाग्ने समस्या उस्तै हुन्छ । हामीले सके जति सहयोग गरिरहेका छौ’ उनले भने । सेनाले हरेक वर्ष मेलामा निःशुल्क शिविर आयोजना गर्दै आएको छ । दैनिकजसो १५÷२० जना खप्तड हिँड्नेले पनि सेवा लिइरहेका छन् ।
यता खप्तड पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर खड्का भने खप्तडमा पर्याप्त व्यवस्था नभएको स्वीकार्दै पर्यटकले जानकारी गराएर मात्रै भ्रमणमा आउन सुझाव दिन्छन । ‘खप्तडमा पर्याप्त व्यवस्था गर्न सकेका छैनौँ । अहिले पर्यटकको संख्या पनि बढिरहेको छ । खप्तडमा ३०÷३५ जनाभन्दा बढीका लागि व्यवस्था छैन । आउने पर्यटकले हामीलाई खबर गरेर आउनुभयो भने केही व्यवस्था गर्छौं । हामीलाई खबर नगरी आउनेले दुःख नै पाउँछन’ उनले भने ।
खड्काका अनुसार पर्यटकको व्यवस्थाका लागि भवनहरू पुनर्निर्माण भइरहेका छन् । ‘यसभन्दा अगाडि बस्न पनि नमिल्ने भएका भवनहरू हामीले बस्न मिल्ने बनाएका छौँ । खप्तड आउने पर्यटकले हामीलाई जानकारी गराएर आउने हो भने हामी सके जति सहयोग गर्छौ’ उनले भने । उनले खप्तड भन्दैमा सबै सुविधा भएको होला भनेर नसोच्न पर्यटकलाई आग्रह गरे ।
रासस

















