अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आत्मनिर्भर बनाउन सहकारीको ठूलो भूमिका रहेको बताएका छन । शनिबार मालाखेती कृषि सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन ।
‘सहकारीमा लागेर सबैले सानो ठूलो ऋण चलाउन पाएका छन । जुन रकमबाट व्यवसाय गर्न सकिन्छ । आफूलाई आत्मनिर्भर बनाउन सकिन्छ’ उनले भने ‘जसले देशको आर्थिक विकासमा टेवा पु-याएको छ ।’

उनले सहकारीमा आवद्ध सदस्यहरुले सहकार्य गरेर अगाडी बढेमा यसले आर्थिक उन्नती र विकासमा मदत पु-याउने बताए ।
‘सहकारीमा दुई शब्द मिलेर बनेजस्तै सबै क्षेत्रमा सहकार्य गरेर अगाडी बढेको खण्डमा हामी अगाडी बढ्न सक्छौ । सहकारीले सम्बन्धको विकास पनि गर्दछ’ उनले भने ‘सहकारीले गर्दा नै अहिले हामी सबै दिदीबहिनी दाजुभाई मिलेर गएका छौ । एक आपसमा समन्वय भएको छ । जसले केही हद सम्म भएपनि आर्थिक उन्नती र विकास भएको छ ।’
उनले सहकारीमा कोही सानो, ठूलो नहुँने बताउँदै सहकारीमा लाभको भावना पनि नहुने बताए । ‘यसमा एकले अर्काका लागि काम गर्ने हो’ उनले भने ‘सहकारीमा सबैले लगानी गर्छौ । सवैले यसबाट ऋण लिएर नाफा लिन्छौ ।’

उनले सहकारीले यस क्षेत्रमा राम्रो काम गरेकोमा धन्यावाद ज्ञापन गर्दै सहकारीको थप विकासका लागि नगरपालिका गर्न सकिने सहयोगका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा नम्बर ३ का वडा अध्यक्ष तेज राज अवस्थीले सहकारीले छोटो समयमा राम्रो प्रगती गरेको बताए । उनले पछिल्लो समय एक सहकारीबाट ऋण लिएर अर्कोमा बुझाउने क्रम बढेकाले यसलाई रोक्न आवश्यक रहेको बताए ।
‘अहिले एक ठाउँको सहकारीबाट पैसा लिएर अर्कोमा बुझाउने गरिन्छ । यो एकदमै गलत हो’ उनले भने ‘सकेसम्म एउटै सहकारीमा आवद्ध हुनुहोस । त्यो सहकारीमा राम्रो काम गर्नुभयो भने तपाईले जति पनि ऋण पाउनुहुन्छ ।’
८८ लाख बढी ऋण लगानी
बार्षिक साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष देवराज भट्टले सहकारीले हालसम्म ८८ लाख बढी ऋण लगानी गरेको बताए । उनले २०७९ असार मसान्त सम्म कुल ८८ लाख १४ हजार ४४९ रुपैयाँ ऋण लगानी गरिएको बताए । सहकारीले २०७९ असार मसान्त सम्म ८१ लाख ९० हजार ७५७ रुपैया निक्षेत संकलन गरेको उनले बताए ।

२०७३ कार्तिक १२ गते २७ जनाको १ लाख ३५ हजार सेयर पुजीबाट स्थापना भएको उक्त सहकारीमा हाल २२ लाख २७ हजार ३ सय सेयर पुजी पुगेको छ । सहकारीले २०७९ असार मसान्तको विवरण अनुसार २० प्रतिशत तरलता कायम रहेको जनाएको छ ।
सहकारीमा हाल सदस्यको संख्या १ हजार १९० रहेको लेखा समिति संयोजक बालकृष्ण जोशीले बताए । उनले सहकारीले २०७८/०७९ मा कुल २६ लाख ९६ हजार ७०१ रुपैयाँ आम्दानी गरेको बताए ।
उत्कृष्ट कृषक सहित ५ जना सम्मानीत
सहकारीले आफ्नो छटौं साधारण सभामा उत्कृष्ट कृषक सहित ५ जनालाई सम्मानित गरेको छ । सहकारीबाट ऋण लिएर कृषि व्यवसायमा आवद्ध गोदावरी नगरपाकिला – १० का टेक राज पनेरुलाई सहकारीले उत्कृष्ट कृषक घोषित गरेको हो । उनलाई प्रमुख अथिति गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

पनेरुले ४ बर्ष अगाडी सहकारीबाट २ लाख ऋण लिएर कुखुरा पालन व्यवसाय संचालन गरेका थिए । हाल उनले ५ कट्टा जग्गामा कुखुरा संगै तरकारी खेति गर्दै आएका छन । जसबाट उनले बार्षिक ४ लाख सम्मको आम्दानी गर्ने गरेको बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता टेकु कुमारी भण्डारी (खड्का) र लक्ष्मी खड्का, समयमै व्याज किस्ता बुझाउने सहकारीका सेयर सदस्य पदम सिह भण्डार र सविता चौधरीलाई सम्मानित गरिएको थियो ।
यस्तै कार्यक्रममा उत्कृष्टमा परेका सरस्वती कृषि समुह र ओम शान्ती कृषि समुहलाई पनि सम्मानित गरिएको थियो । सहकारी अन्तरगत हाल ४८ वटा कृषि समुह रहेका छन ।

यस्ता छन आगामी कार्यक्रम
सहकारीले बार्षिक साधारण सभामा आर्थिक बर्ष २०७९/०८० का कार्यक्रम पनि सार्वजनीक गरेको छ । जसमा मुख्य रुपमा कृषिलाई प्राथमिकता दिइएको छ ।
जस अन्तरगत कृषकहरुलाई कृषि तालिम दिने, सहकारी मार्फत कृषि एग्रोभेट संञ्चालन गर्ने, कृषि समुहलाई व्यवस्थित, सक्षम र क्रियाशिल बनाउनको लागि समुहमा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छन ।
त्यस्तै सहकारीले कृषि एम्बुलेन्सको खरिद गरेर कृषकहरुले उत्पादन गरेका तरकारीहरुको बजारीकरणमा सहयोग गर्ने, बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालिम दिएर स्वरोजगार बनाउने, दलहन पदार्थलाई प्याकेजिङ्ग गर्ने लगायतका कार्यक्रम रहेको सहकारीका व्यवस्थापक लालबहादुर खड्काले बताएका छन ।
















