अत्तरिया – व्यवसायबाट धेरै पैसा कमाउन धेरै लगानी आवश्यक पर्छ भन्ने आम मानिसहरुको बुझाइ हुन्छ । धेरैजसो पैसा नै छैन कसरी व्यवसाय गर्ने भन्ने प्रश्नै प्रश्नमा जिवन बेथित गर्दछन् भने कोही पैसा भएर पनि व्यवसाय गर्ने आट गर्न सक्दैनन् । जसको नतिजा उनीहरु देश, विदेशमा जागिर खोज्न भौतारिन्छन र, बिभिन्न ठाउँमा सास्ती पनि खेप्नु पर्छ ।
तर, यसरी भौतारिने अहिलेको युवा पुस्ताका लागि अपवाद हुन २८ बर्षिय प्रेमराज भट्ट । कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया घर भएका भट्ट अहिले करोडौंको कारोवार गर्ने युवाका रुपमा चिनिन्छन । जो १० बर्ष अगाडी १ हजार रुपैयाँका लागि आफै भौतारिन्थे । डोटीको जोरायल गाउँपालिका – ३ मा जन्मेका भट्टले १४ बर्षमा आफ्नो जन्मघर छोडेका थिए ।

कक्षा नौ मा अध्ययन गर्दा गर्दै उनी घरमा जानकारी नै नदिई कैलालीको अत्तरियामा रहेको दिदीको घरमा आएका थिए । बसमा आउने टिकट समेत नहुँदा उनी दिनभरी हिडेर अत्तरिया पुगेका थिए । घर छोड्नु त्यतिबेला उनका लागि बाध्यता थियो । ‘म पढाइमा एकदमै राम्रो थिए । कक्षा १ देखि नै प्रथम हुन्थे । ३ दिदीको बिहे भइसकेको थियो । बुवा र दाई भारतमा काम गर्थे । घरमा म र आमा बस्थ्यौ’ उनले भने ‘सबै कुरा सामान्य चलिरहेको थियो । तर, एक दिन आमा जंगलमा घाँस काट्न गएका बेला रुखबाट लड्नुभयो । आमा घाइते भएपछि उपचारका लागि धनगढी ल्याइयो । लामो समय सम्म उपचार चल्यो । त्यसपछि मैले घरमा एक्लै बस्नु पर्ने भयो । घरको सबै काम पनि गर्नुपथ्र्यो ।’
उनले १४ बर्षकै उमेरमा घरमा गाइगोरु चराउने देखि लिएर घरको सबै काम गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएपछि पढाइ बिग्रीन थालेको बताए । घरमा बसेर मनमा खिन्नता हुन थालेपछि घर छोडेर अत्तरियामा रहेको दिदीको घरमा आएको उनी बताउँछन ।
कक्षा नौ मा पढ्दा पढ्दै पहाडबाट तराई झरेपनि उनलाई पढाइ नछोड्न घरबाट दवाव आयो । त्यसपछि उनी दिदीकै घरमा बसेर पढाइलाई निरन्तरता दिन अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भए । ‘अत्तरिया बजार क्षेत्रमा बसेर पढ्न सक्ने अवस्था त थिएन तर, दिदीको सहयोगले म यहाँ पढ्न पाए’ उनले भने ‘त्यतिवेला विद्यालयमा जसोतसो भर्ना भएपनि मैले नयाँ ड्रेस सम्म किन्न सकेको थिएन । नयाँ लुगा किन्न नसकेकाले म पहाडमा कक्षा ९ मा पढ्दा जुन ड्रेस लगाउँथे त्यही ड्रेस लगाएर पढेको थिए । विद्यालयमा मेरो छुटै ड्रेस थियो ।’ भट्टले सानैदेखि कृषि क्षेत्रमा काम गर्ने सोच बनाएका थिए । त्यही सोचलाई मुर्त रुप दिन उनले १० कक्षा उर्तिण गरेपछि थप अध्ययन गर्नै परे कृषि विषयमा पढ्ने योजना बनाएका थिए । कृषिमै उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक अवस्था कमजोर भएका कारणले उनी १५ महिने जेटिए पढ्ने सोच बनाए ।
‘मैले आर्थिक रुपमा जती अवरोध भोगे पनि मैले आफ्नो सोचलाई भने मर्न दिएन् । मैले तत्कालको आर्थिक अवस्थाका बारेमा मात्रै चिन्ता लिएको भए अहिले म भारतको कुनै गल्लीमा चौकीदारी गरिरहेको हुन्थे’ उनले भने ‘मानिस जन्मदै गरिब जन्मनु उसको गल्ती होइन् तर, मर्ने बेला पनि गरिब भएर जन्मनु उसको गल्ती हो भनेर सोच्थे ।’ विभिन्न आर्थिक सिमितताका अवरोध पार गरेर कृषि जेटिए उत्तिर्ण गरेका भट्टले त्यसपछि भने आय आर्जन गर्ने बाटो खोज्न थाले । ‘जेटिए पढ्नको लागि पनि जसोतसो खर्च जुटाएको थिए । जेटिए पढेपछि मैले जागिर खाने सोच पनि बनाए । तर जागिर खानका लागि कही पनि (बाँकी पृष्ठ २ मा) सफलता हात लागेन’ उनले भने ‘मैले जागिर खाएर व्यवसाय गर्नकै लागि रकम जुटाउने योजना थियो । तर, जागिर खाने योजना सफल भएन ।’

अनी सुरु भयो १ हजारको व्यवसाय
जोश थियो, जागर थियो, सिप पनि थियो । व्यवसाय गर्ने सोच पनि थियो । तर, उनी संग पनि व्यवसायका लागि लगानी थिएन । जुन आम युवाको साँझा समस्या हो ।
त्यसका लागि उनले सानो जुक्ति निकाले । त्यो थियो थोरै लगानीबाट सुरु गर्न सकिने च्याउँ खेती । १० बर्ष अगाडी भट्टले च्याउँ खेती गर्दा अत्तरिया क्षेत्रमा यसको व्यवसायीक खेती सुरु नै हुन सकेको थिएन् । त्यो समयमा धेरैलाई घरमै च्याउ उत्पादन गर्न सकिन्छ भन्ने पनि थाहा थिएन् । त्यही समयमा उनले सुरु गरे च्याउ खेती । त्यो पनि १ हजारको लगानीमा ।

‘मैले साथिभाईबाट एक हजार रुपैयाँ सापट लिएर च्याउँको खेती सुरु गरेको थिए । मैले आफू बस्ने कोठामै पलङ मुनि ४ पोका च्याउ राखेको थिए’ उनले भने ‘१ हजार लगानी गरेको त्यो च्याउखेतीबाट मैले ३ हजार कमाए । त्यसले मलाई कृषिमा झन बढी आकर्षित गर्यो ।’ उनको च्याउँ खेती बिस्तार हुँदै गयो । संगसंगै उनले त्यही समयमा विद्यालयहरुमा गएर च्याउँ खेतीका बारेमा तालिम पनि दिन थाले । विभिन्न सामुदायिक वनहरुले पनि च्याउँ खेती सम्बन्धि तालिम दिन उनलाई बोलाउन थाले ।
च्याउँ खेती र तालिमबाट आयआर्जन बढ्दै गएपछि उनले जग्गा भाडामा लिएर कृषि फर्म दर्ता गरेर व्यवसाय बढाउने सोच बनाए । जसका लागि दिदी÷भिनाजुको स्वामित्वमा रहेको जग्गा कृषि बैंकमा राखेर ऋण लिन प्रक्रिया अगाडी बढाए । ‘बैंकले मलाई त्यती सहज तरिकाले लोन दिन मानेन् । त्यतिबेला १८/१९ बर्षको थिए । कम उमेर भएकाले पनि बैंकलाई पत्याउन गाह्रो भयो । निकै प्रयास पछि २ लाख लोन पास भयो’ उनले भने ‘त्यसपछि मेरो व्यवसायीक कृषि गर्ने योजना अगाडी बढ्यो । त्यसपछि मैले च्याउ संगै कुखुरा पालन र बंगुर पालन व्यवसाय सुरु गरे ।’
उनले व्यवसाय बढ्दै गएपछि कुरीलोको खेती पनि सुरु गरे । उनी व्यवसायबाट भएको सबै नाफा व्यवसाय थप्नमै लगानी गर्न थाले । जसले गर्दा व्यवसाय बढ्दै गयो । ‘जहाँ इच्छ्या त्यहाँ उपाय । आर्थिक अवस्था नाजुक भएपनि मैले कहिले पनि हरेस खाएन । मैले भाग्यमा कहिले बिश्वास गरेन । कर्म गरेमा जे पनि सम्भव छ भन्ने मलाई लाग्थ्यो’ उनले भने ‘सायद त्यसैले होला १० बर्षे व्यवसायीक यात्रामा कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।’ कृषि व्यवसाय सुरु गरेको ५ बर्षमा १० हजार कुखुरा पालन संगै करिब ६ विगा जग्गामा कुरीलो खेती बिस्तार गरेका उनले हाल आफ्नै कुखुराको दाना बिक्री गर्नेे पीके पोल्ट्री एण्ड कृषि सप्लायर्स पनि संचालन गरेका छन ।
उनले हाल कृषि सप्लायर्सबाट मात्रै बार्षिक २० देखि २५ करोडको कारोबार हुने गरेको बताए । पछिल्लो समय दानाको कारोबार बढ्न थालेपछि उनले हाल ८ जना साथिहरु संग मिलेर प्रति व्यक्ति ५ करोडका दरले ४० करोडमा रोयल फिड उद्योग नै संचालनमा ल्याएका छन । कुखुरा पालनबाट कुुखुरा दाना बिक्रेताको काममा हात हालेका उनले कुखुराका दाना पनि बाहिरी प्रदेशबाट ल्याउन भन्दा यही बनाउने सोचका साथ साथीहरु संग मिलेर उद्योग खोलेको बताए । ‘बार्षिक २०/२५ करोडको दाना मैले बिक्री गर्थे । यती धेरै दाना बाहीरबाट ल्याएर बिक्री गर्नु भन्दा यस क्षेत्रमै उद्योग संचालन गर्न सके सहज हुने सोचका साथ मैले उद्योगमा लगानी लगाएको हु’ उनले भने ‘अहिले २ महिना जती भयो उद्योग संचालनमा आइसकेको छ ।’ प्रतिघण्टा १० टन दाना उत्पादन गर्ने उद्योगबाट हाल दैनिक ५० टन दाना उत्पादन भइरहेको उनले बताए ।
च्याउ खेतीबाट सुरु भएको उनको कृषि यात्राले अहिले कृषि क्षेत्रकै उद्योगीको रुपमा पहिचान बनाइसकेको छ । बस चढ्ने भाडा नहुँदा पहाडबाट हिडेर तराई झरेका भट्ट अहिले आफ्नै कारमा हिड्ने गरेका छन भने अत्तरिया र धनगढी बजार क्षेत्रमा आफ्नै घर समेत बनाइसकेका छन । तराइमा एक धुर जग्गा नभएका उनले १० बर्षकै अवधिमा २ बिगा जग्गा पनि जोडिसकेको बताए ।
उनले भारतमा रोजगारी गर्ने बुवा र दाइ पनि अहिले आफु संगै काममा सघाउने गरेको बताए । उद्योग बाहेक अहिले प्रत्यक्ष रुपमा ९ जनाले र दर्जनौले अप्रत्यक्ष रुपमा रोजगार पाएको उनले बताए ।
‘१० बर्ष अगाडीको अवस्था हेर्ने हो भने म यती चाडै अहिलेको अवस्थामा पुगौला भन्ने लागेको थिएन’ उनले भने ‘मैले व्यवसायमा दिएको निरन्तरता, इमान्दारीता र लगनसिलताले नै मलाई यस क्षेत्र सम्म पुगाएको हो जस्तो लाग्छ । यो दैरान म धेरै पटक असफल पनि भए तर, मैले ति असफलतालाई कहिले पनि हारको रुपमा लिएन । जसरी प्रकृतिले हामीलाई निरन्तर अक्सिजन दिन्छ त्यसरी नै हामीले व्यवसायमा कम गर्ने हो भने सफल अबश्य भइन्छ भन्ने मलाई लाग्छ ।’ उनले १ हजार लगानीबाट व्यवसायी बन्न देखेको सपना यती चाडै यस अवस्थामा पुग्ला भने आफूले कल्पना सम्म नगरेको बताए । ‘मैले यति छिटै व्यवसायमा यति सफल हुन्छु भन्ने नसोचेपनि व्यवसायमा लागे एक दिन सफल हुन्छु भन्ने म भित्र आत्मविश्वास चाहि थियो’ उनले भने ‘मैले कृषिमा व्यक्तिगत रुपमा सफलता लिएपनि अब अरु मानिसले पनि यसमा जोडिन आवश्यक रहेको छ भन्ने सोच लिएको छु ।’

उचित नीति नबन्दा युवा बेरोजगार
नेपालमा धेरै सम्भावना भएपनि प्राकृतिक श्रोत साधनको उचित प्रयोग गर्न सक्ने नीति नबन्दा अहिले पनि धेरै युवा बेरोजगार बस्नु परेको उनी बताउँछन् ।
‘नीति निर्माण गर्ने ठाउँमा सकारात्मक सोच भएको क्षमता भएको मान्छे नहुँदा नेपाल गरिब भएको छ । जसका कारण म पनि पछिल्लो समय यो नीति निर्माण गर्ने ठाउँमा पुग्नुपर्छ भनेर राजनीतिमा पनि इन्भल्ब हुन थालेको छु’ उनले भने ‘नेपाल प्रकृतिले सम्पन्न भएपनि देश गरिब हुनुको कारण निती निर्माण सहि नहुनु हो । त्यसैले मैले अहिले व्यक्तिगत जिवनमा सफल भएपनि मैले समाजका मानिसको जिवनमा पनि परिवर्तन ल्याउने अठोट लिएको छु । म यसमा कति सफल हुन्छु । हेर्न बाँकी छ ।’
उनले अहिले युवाहरु व्यवसायी बन्न नसक्नुको कारण साहसको अभाव, जोखिम लिन नसक्नु र राज्यले लगानी सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु भएको बताए । जसका कारण नेपाल तरकारी देखि साना बस्तुमा पनि भारतमा निर्भर रहनुपरेको उनको बुझाइ छ ।


















