अछाम – अछाममा कुष्ठरोगका विरामीको संख्या बढ्दै गईरहेको छ ।
गत वर्षसम्म ४० जना कुष्ठरोगका विरामी रहेको जिल्लामा यस वर्ष १२ जना थपिएका छन । १२ जना थपिए सँगै जिल्लामा कुष्ठरोगका विरामीको संख्या ५२ पुगेको छ ।

परीक्षणको दायरामा आइ खुलेका संक्रमितको संख्या ५२ पुगे पनि पहिचान हुन बाँकी रहेका अन्य संक्रमित समेत समाजमा रहेको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाको भनाई छ ।
स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुङ्गानाका अनुसार जिल्लामा बर्सेनि कुष्ठरोगका संक्रमितको संख्या थपिँदै गएकाले रोग न्यूनीकरणमा चुनौती थपिएको छ ।

कुष्ठरोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि गाउँघरमा कुष्ठरोगका संक्रमित अझै लुकी छिपी बस्ने गरेका कारण कुष्ठरोगका बिरामीको संख्यामा कमी आउन नसकेको उनले बताए ।
कुष्ठरोग संक्रमित बिरामी खुलेर उपचार गर्न नआउनाले पनि जिल्लामा बिरामीको संख्यामा कमी आउन नसकेको उनको भनाई छ । उनले यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने भएकाले सामाजिक दुरी कायम गर्नुका साथै अन्य आवश्यक सतर्कता समेत अपनाउनुपर्ने बताए ।
सुदूरपश्चिमको तथ्यांक अनुसार सबै भन्दा बढी कुष्ठरोगी भएको जिल्लामध्ये दोस्रो नम्बरमा अछाम रहेको उनले बताए ।
उनले जिल्लामा कुष्ठरोगको समस्यालाई न्यूनीकरण गर्नको लागि प्रत्येक स्थानीय तहमा बिरामीको पहिचानका लागि जिल्ला स्वास्थ्य कार्यालय योजना सहित अगाडि बढेको बताए ।

















