बझाङ – गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ सरुवा गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार रुकुम पश्चिम, झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा र इलाम जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको हो ।
मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा सह–सचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा गृह मन्त्रालयका सह–सचिव रमेश ढकाललाई पठाइएको छ ।


यसैगरी रुकुम पश्चिममा गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरे, इलाममा माधव ढुङ्गाना र ओखलढुङ्गामा मन्त्रालयका उपसचिव दिल कुमार तामाङलाई सरुवा गरिएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई अक्तियार दुरुपयोग आयोगमा पठाएको छ ।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।


















