खाेज्नुहाेस

सुत्केरीलाई शुक्लाफाँटाद्वारा पोषण खाद्य सामग्री वितरण

Image

कञ्चनपुर – बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई लक्ष गरी शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ । मातृ शिशु मृत्यु दरमा कमी ल्याउन र घरमै सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरमा सुत्केरीलाई एक क्रेट अण्डा, एक किलो घ्यू, दूध बढाउने सतावरी चूर्ण र शिशुलाई मालिस गर्ने सतामूल तेल उपलब्ध गराउने व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । उनका अनुसार कार्यक्रम सञ्चालन भएको दुई दिनको अवधिमै बर्थिङ सेन्टरमा सुरक्षित रुपमा सुत्केरी भएका सात महिलालाई उक्त सामग्री उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालन भएका पिपलाडी स्वास्थ्य चौकी, झलारी स्वास्थ्य चौकी, पिताम्बर स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र बन्साहबाट सुत्केरीलाई खाद्य सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

attariya hospital

‘कार्यक्रम सञ्चालनका लागि चार लाख बजेटको व्यवस्था गरेका छौँ,’ शाखा प्रमुख भट्टले भने, ‘जसअन्तर्गत सुत्केरी हुने महिलालाई एक हजार २५० बराबरको पोषण खाद्य सामग्री उपलब्ध गराउँछौँ ।’ बजेट थोरै हुँदा कार्यक्रमलाई सहजरुपमा सञ्चालन गर्न गाह्रो भएकाले नगरपालिका सँग थप बजेटका लागि माग गरिएको उनले बताए ।

चालू आवमा सुत्केरी हुनका लागि बर्थिङ सेन्टरमा पुग्ने ३२० महिलाका लागि सो कार्यक्रमअन्तर्गत खाद्य सामग्री वितरण गर्ने लक्ष्य लिइएको छ । ‘आर्थिक रुपमा विपन्न परिवारका महिलाले सुत्केरी भएपछि पोषणयुक्त खानेकुरा पर्याप्त रुपमा खान नपाएर कुपोषणको शिकार हुन्छन् नवजात शिशुले पर्याप्त रुपमा आमाको दूध चुस्न नपाउँदा बिरामी हुने समस्या रहन्छ,’ नगर उपप्रमुख तुलसीदेवी हमालले भने, ‘त्यस्ता समस्यालाई मध्यनजर गर्दै सुत्केरीलाई पोषणयुक्त आहारा उपलब्ध गराउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ ।’

navjiwan hospital

उनका अनुसार स्वास्थ्य शाखाबाट सुत्केरीलाई एक क्रेट अण्डा र घ्यू उपलब्ध हुन्छ । आयुर्वेद औषधालयबाट सतावरी चूर्ण र दशमुलारिष्ट तेल उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका अतिरिक्त स्वास्थ्य चौकीमा प्रोटोकलअनुसार चारपटक गर्भ जाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप चार हजार रकम उपलब्ध गराउँदै आइएको छ ।

योसँगै बर्थिङ सेन्टरमा सुरक्षित रुपमा सुत्केरी गराउने महिलालाई यातायात खर्चवापतको रकम पनि उपलब्ध गराउने गरिएको छ। चारवटै बर्थिङ सेन्टरमा साउन महिनादेखि पुसको हालसम्म २५२ महिलाले सुरक्षित रुपमा सुत्केरी गराएका छन् ।

सुत्केरी भइसकेपछि हुने महिलाको मृत्यु दरमा कमी ल्याउनका लागि घरमै स्वास्थ्यकर्मीले गएर सुत्केरी भएका महिलाको स्वास्थ्य जाँच गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट सुत्केरी जाँच गर्नका लागि तिनकोे घरमै पुगेर स्वास्थ्यकर्मीहरुले ‘पिएनसी होम भिजिट’ समेत गर्दै आएका छन् ।

सुत्केरी भएका महिलाको घरमै पुगेर सुत्केरी भएको तीन दिन र सात दिनमा आमा तथा शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, ज्वरो नाप्ने र अन्य जटिलता भए÷नभएको बारे जानकारी लिने कार्य हुँदै आएका छन् । सुत्केरी भएका महिलालाई रक्तस्राव लगायत अन्य समस्या भए निराकरणका लागि स्वास्थ्य संस्थामा पठाउने कार्य पनि हुँदै आएको स्वास्थ्य शाखाप्रमुख भट्टको भनाइ थियो । सुत्केरीपछि हुने मृत्यु दरमा कमी ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

स्वास्थ्य शाखाप्रमुख भट्टका अनुसार चालू आवको हालसम्म सुत्केरीको मृत्यु भने भएको छैन । जनचेतनाको प्रभावका कारण भने घरमै सुत्केरी हुने क्रम हाल शून्य रहेको छ ।

रासस