बैतडी – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा कैलालीलाई पराजित गर्दै बैतडी फाइनमा पुगेको छ ।
सोमबार भएको खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधिनजिक पुगेको हो । बैतडीले दिएको १ सय ९९ रनको लक्ष्य पन्छाएको कैलाली ३० दशमलव ५ ओभरमा १ सय ६६ रनमा अलआउट भयो ।
शेर मल्लले नटआउट ५१ रनको पारी खेले पनि हार टार्न नसक्दा कैलाली प्रतियोगिताबाट बाहिरिएको हो । कैलालीको पारी ध्वस्त पार्ने क्रममा बैतडीका लागि वीरेन्द्र नाथ, प्रदीप चन्द र गजेन्द्र बोहराले २/२ विकेट हात पारे ।

त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रन बनायो ।

नरेन भट्टले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन बनाए । कैलालीका लागि नरेन साउदले सर्वाधिक ३ विकेट हात पारे । नरेन म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्तर्गत लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनल प्रवेश गरेको छ ।
फाइनलमा बैतडीले कञ्चनपुरको सामना गर्नेछ । प्रतियोगिताको फाइनल मंगलबार कभर्डहल मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
कञ्चनपुर समूह ए बाट शीर्षमा रहँदै र बैतडी समूह बी को शीर्षमा रहँदै फाइनलमा पुगेका हुन् । पुस १४ गते शुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता थियो । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीछनोट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ ।
उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा पुस २५ मा काठमाडौंमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।


















