खाेज्नुहाेस

देशभर झन्डै ८ लाख मतदाता थपिदाँ सुदूरपश्चिमका ४५ हजार

Image

काठमाडौँ — निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन ।

निर्वाचनलाई लक्ष्य गरेर मंसिर १७ देखि जारी अभियानमा आइतबार संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो ।

attariya hospital
navjiwan hospital

आयोगले स्थानीय तहमै जनशक्ति परिचालन गरी फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको थियो । अहिले पनि २ सय २५ स्थानमा नामावली संकलन जारी छ । ‘स्थानीय तह स्तरमा भएको नामावली संकलन मात्रै सकिएको हो,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘इलाका र जिल्ला प्रशासन, निर्वाचन कार्यालयमा सार्वजनिक बिदाको दिनबाहेक नामावली दर्ता गराउन सकिन्छ ।’

उनले चुनावको मिति घोषणा नभएसम्म नामावली संकलन जारी रहने जानकारी दिए । आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख १४ देखि २२ सम्म गर्न सरकारलाई प्रस्ताव गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि ०७९ फागुन २० भित्र गरिसक्नु पर्नेछ ।

आयोगका अनुसार एक महिनामा सबैभन्दा बढी प्रदेश २ मा २ लाख १३ हजार मतदाता थपिएका छन् । लुम्बिनीमा १ लाख ६८ हजार, वाग्मतीमा १ लाख ३१ हजार, प्रदेश १ मा १ लाख १२ हजार, गण्डकीमा ७४ हजार, कर्णालीमा ४७ हजार र सुदूरपश्चिममा ४५ हजार मतदाता थपिएका हुन ।

आयोगले १६ वर्ष पूरा भएकाको फोटोसहितको विवरण संकलन गरेको हो । मतदाता हुन भने १८ वर्ष पूरा भएको हुनुपर्छ । देशभरि २ सय २५ स्थानमा नियमित मतदाता नामावली संकलन हुने गरेकामा कोरोना महामारीका कारण रोकिएको थियो ।