धनगढी – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टीम एपिएफ क्लबले जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो ।


एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाईन् । ममता चौधरीले १७ रन थपिन् । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योती र ममताले जितसम्म डोराएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिईन् ।
यसअघि एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाईन् । अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम भएको टिमले ५ लाख हात पारेको छ । भने उपविजेता बनेको प्रदेश १ ले ३ लाख पाएको छ ।
















