खाेज्नुहाेस

सहकारीबाट ऋण लिएर तरकारी खेती

Image

अत्तरिया – रिता चौधरी विगत २२ बर्षदेखि तरकारी खेती गर्दै आइरहेकी छिन । कमैया मुक्त भएदेखि उनको मुख्य पेशा तरकारी खेति बनेको छ ।

कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटाकी चौधरीले पुरै जिवन तरकारी खेतीमै बिताएको बताईन् ।

attariya hospital

‘मैले तरकारी खेती गरेको २०/२२ बर्ष भयो । जिन्दगीभर गरेको काम यहि नै हो’ उनले भनीन् ‘हामी पहिले कमैया थियौ । कमैया मुक्त भएदेखि तरकारी खेतीमा लागेका थियौ ।

तरकारी खेती गरेरै अहिले घर बनाएको जग्गा किनेका हौ ।’ उनले तरकारी खेतीका लागि साना किसान कृषि सहकारी संस्थाबाट ऋण निकालेको बताईन् । ‘आफू संग भनेको समयमा पुजी हुँदैन’ उनले भनीन् ‘बिउविजन किन्न, मल किन्न, ऋण निकाल्नुपर्छ । पछि तरकारी बेच्दै ऋण तिर्दै गर्ने गरेकी छु ।’

उनले गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारी संस्था मालाखेतीबाट चौथो पटक १ लाख ऋण लिएको बताइन् । ‘तरकारी खेतीका लागि पहिले गाउँघरबाट ऋण निकाल्ने गरेका थियौ’ उनले भनीन् ‘गाउँघरमा ५ प्रतिशत सम्म ब्याज तिनुपथ्र्यो । पछि साना किसानमा लागेपछि निकै सहज भएको छ ।’

उनले हाल १० कट्टा जग्गामा तरकारी खेती गर्दै आएकी छिन । डेढ कट्टा जग्गा आफै किनेकी चौधरीले ५ कट्टा जग्गा कटान गरेर जोडेकी छिन भने अन्य जग्गा भाडामा लिएकी छिन । भाडामा १० कट्टा जग्गा लिएकी उनले बाँकी जग्गामा धान, गहुँ खेती गर्दै आएकी छिन ।

उनले तरकारी खेतीबाट डेढ कट्टा जग्गा जोडेर ४ भाईका १२ छोराछोरी हुर्काएको बताईन् । ‘२÷३ बर्ष मात्रै भएको छ घर फाटेको नत्र चार भाईको परिवार सबै संगै थियौ’ उनले भनीन ‘घर फाटेपछि अहिले हामी २ बुढाबुढी र छोरो बुहारी एकै परिवारमा संगै बसेका छौ । ३ छोरीको बिवाह भैसक्यो ।’

तरकारी खेतीमा २२ बर्षदेखि लागेको भएपनि सोचेजस्तो मुल्य भने कहिल्यै पनि नपाउने गरेको चौधरीको गुनासो छ ।

navjiwan hospital

‘बारीमा अहिले पालुङ्गो फलेको छ । तर, २० रुपैयाँमा पनि बिक्री भइरहेको छैन’ उनले भनीन ‘सोचेको जस्तो कहिल्यै मुल्य पाइएन् । आफ्नो तरकारी पनि कतिमा किनिदिने हो भनेर अरुलाई सोध्नु पर्ने अवस्था छ ।’ उनले किसानका सहजताका लागि बजारको सुनिश्चितता हुनुपर्ने बताइन् ।

उनले किसानलाई बिउँ र मलमा पनि अनुदान दिन आवश्यक रहेको बताईन् । तरकारी खेतीबाट बर्षभरीको खर्च कटाएर डेढ लाख जती आम्दानी हुने गरेको (बाँकी पृष्ठ ३ मा) चौधरीले बताईन् ।

रिता चौधरीका श्रीमान कर्ण चौधरीले सुरुमा जग्गा नहुँदा मोहना नदी किनारामा तरकारी खेती गरेको बताए । ‘सुरुमा देशीहरुको बारीमा काम गर्याै । त्यहीबाट तरकारी खेती गर्न पनि सिकियो । पछि आफैले पनि मोहना नदी किनारमा खेती गर्याै’ उनले भने ‘अलिकती पैसा जम्मा भएपछि यहाँ जग्गा ठेक्कामा लिएर तरकारी खेती सुरु गरेका हौ ।’

उनले साना किसान लगायतका अन्य संघ सस्थाको सहयोगमा २ वटा टनेल पनि निर्माण गरेको बताए । उनले सिजनमा एउटै टनेलबाट ६०/७० हजार आम्दानी हुने गरेको बताए ।

साना किसान कृषि सहकारी संस्था मालाखेतीका प्रवन्धक गोरख बहादुर खत्रीले किसानहरुका लागि सहकारीले बिभिन्न सहयोगका कार्यक्रम ल्याएको बताए । उनले १० कट्टा भन्दा बढी तरकारी खेती गर्ने किसानहरुका लागि बार्षिक ५ हजार रुपैयाँ नर्सरी सुधारका लागि अनुदान दिने गरेको र, १५ भन्दा बढी बाख्रा पाल्ने किसानलाई एउटा ब्याड बोका वा ३० हजार बरावरको उन्नत जातको बोका दिने गरेको बताए ।

‘सहकारीले मल र उन्नत जातको बिउ, किटनासक औषधी बितरणका लागि पनि आगामी दिनका कार्यक्रम सञ्चालन गर्दै छ’ उनले भने ‘हामीले किसानहरुको सहयोगका लागि पशु प्राबिधिक खटाएका छौ भने एक जना कृषि जेटिए पनि नियुक्ती गर्ने प्रक्रियामा छौ ।’

उनले बजारीकरणका लागि अत्तरियामा हाट बजार भएपनि साना किसानका लागि समस्या भएकाले साना किसानको उत्पादन विक्रीका लागि पनि सहजिकरण गर्ने योजना बनाएको बताए ।