अत्तरिया बजारमा अहिले दर्जनौको संख्यामा ठेला व्यवसायी छन । दोस्रो लहरको कोरोना पछि बजारमा ठेला व्यवसायी बढेका छन । बजारमा ठेला व्यवसायी धेरै संख्यामा भएको भन्दै गोदावरी नगरपालिको अत्तरिया बसपार्क लगायतका क्षेत्रमा व्यवस्थापन गर्ने भने पनि अझै पूर्ण रुपमा योजना सफल हुन सकेको छैन । त्यसैले अहिले धेरैलाई यो क्षेत्रमा एकाएक कहाँबाट यति धेरै ठेला व्यवसायी आए भन्ने चासो बढेको छ । केही गलत मनसायले बजारमा ठेला व्यवसायमा प्रवेश गरेका भएपनि धेरैको भने सडकको व्यापार गर्नु बाध्यता छ ।
अत्तरिया – सुरेश विक पैसा कमाउने भन्दै १२ बर्षकै उमेरमा भारत हानीए । बैतडीको मेलौली नगरपालिका – २ का सुरेशको बाल्यकालमै भारत जानु बाध्यता थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढ्न पाएनन् । आफन्त संगै मुम्बइ गएका उनले एक कोठीमा काम पाए ।

सानै उमेर भएकाले उनले बाह्य वातावरणका बारेमा बुझ्न सकेनन् । र, निरन्तर कोठीमा काम गरिरहे । उमेर बढ्दै गएपछि भने उनले यसरी जिवन चलाउन गाह्रो हुने महशुस गरे । अनी उनी १५ बर्ष देखि गर्दै आएको कोठीको काम छोडेर बिदेश जाने सोच बनाए ।
‘कोठीमा काम गरेर खासै प्रगती भएन् । न कुनै सिप सिकियो’ रमेशले भने ‘यो भन्दा त केही आफ्नौ व्यवसाय गर्नुपर्छ भन्ने सोच आयो । तर, लगानी थिएन । अनी २/४ बर्ष विदेशमा गएर कमाउने सोच बन्यो ।’
उनी नेपालमा भुकम्प गएकै बर्ष २०७२ मा विदेश हानीए । १२ बर्षमा भारत गएको भन्दा यो यात्रा फरक थियो । तर, मलेशिया पुगेपछि रमेशले थाहा पाए आफू दलालबाट ठगिएको ।
‘अलि राम्रो हुन्छकी भनेर बिदेश जाने सोच बनाए । विदेश जाँदा दलालले ठग्यो । ९ सय सेलरी भनेर ४ सय मात्रै पाइयो’ उनले भने ‘३ बर्ष त बसे तर, कमाई खान लाउनमै ठिक्कै भयो । केही बचेन ।’
३ बर्षपछि बिदेशबाट घर फर्केका रमेशले तराई भर्ने सोच बनाए । त्यसपछि उनी कञ्चनपुर आए । यहाँ आउने वितिकै उनले एउटा नमकिन कम्पनीमा काम पाए । तर, उनले काम गरेको नमकीन कम्पनी धेरै दिन चल्न सकेन । श्रीमती र २ छोरा सहित भाडाको कोठामा बसेका उनी अलपत्र परे ।

करिब १८ बर्ष अरुको काम गरेका रमेशले आफ्नौ व्यवसाय गर्ने सोच पहिले नै बनाएका भएपनि पुजीको अभावमा भौतारिएका थिए । तर, नमकिन कम्पनीको काम छुटेपछि भने उनको मनमा सानो लगानीमै सानै व्यवसाय गर्ने सोच आयो । अनी उनी बने ठेला व्यवसायी ।

३ बर्ष अगाडी अत्तरियामा फलफुलको ठेला संचालन गरेका उनी अहिले सोही ठेलामा तरकारी बेच्दै आएका छन । लकडाउनले फलफुको व्यवसाय बन्द भएपछि उनी दोस्रो लहरको कोरोना पछि ठेलामा तरकारी बेच्न थालेका हुन ।
‘पहाडबाट गाडीहरुमा साग आउँन्छ । ति गाडीहरुबाटै साग किन्छौ’ उनले भने ‘बिहान गाडीहरुबाट साग खरिद गर्छु बिहानै बेचियो भने साँझ बेच्नु पर्दैन नत्र साँझ पनि बेच्न आउन्छु । दिनमा ४०/५० मुठा जति पालुङ्गो बेचिन्छ । सबै साग लगाएर दिनमा १०/१५ हजार जतिको बिक्री हुन्छ ।
उनले ठेलामा पालुङ्गो, रायो, धनिया बिक्री गर्दै आएको बताए । दिनमा १०/१५ हजार लगानी गरेर साग किन्यो भने सबै बिक्री भए १ हजार जती नाफा हुने उनले बताए ।
‘अचेल बजारमा ठेला लगाउन दिदैनन् । अली कम बिक्री भइरहेको छ । म बजारमा कुनै ठाउँमा पनि ठेला नराखि ठेला घुमाउन्छु’ उनले भने ‘विदेशमा नेपाली १७/१८ हजार तलब थियो । त्यो भन्दा त, यहाँ राम्रो भएको छ । तर, खर्च पनि बढेकाले परिवार पाल्न मुस्कीलै छ । परिवारको लालनपालन, पढाइ खर्च, कोठाभाडा, बिजुली पानीको बिल तिर्दा ठिक्कै हुन्छ ।’ उनले ठेला व्यवसायमा श्रीमतीले पनि सघाउने गरेको बताए ।
‘अहिले श्रीमती २ छोराछोरी र पहाडमा बस्ने आमा र भाइको खर्च ठेलाबाटै जोहो गर्ने गरेको छु’ उनले भने ‘लकडाउनमा ठेला बन्द हुँदा पुरानो अटो किनेको थिए । त्यो समय समयमा बिग्रने गरेका कारण कमाई भन्दा बढी खर्च हुन लाग्यो । त्यसपछि अटो बेचेर पुन : ठेलामै साग राखेर बेच्न थालेको छु ।’ ३२ बर्षका रमेशले विदेशबाट आएर कुनै व्यवसाय गर्ने सोच बनाएपनि त्यो पुरा हुन नसकेपछि ठेला व्यवसायमा हात हाल्नु परेको बताउन्छन ।


















