अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगरपालिका भित्र रहेका ७५ बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई बुधबार गोदावरी नगरपालिकाले सम्मान गरेको हो ।
नगरपालिकाले प्रत्येक वडाबाट ५ जनाका दरले ६० जनालाई सम्मान गरेको नगरपालिकाको महिला विकास शाखा प्रमुख गोदावरी धामीले बताईन् । जसमा प्रत्येक वडाबाट २ महिला र ३ पुरुष समाबेस गरिएको थियो ।

गोदावरी नगरपालिका – २ मा रहेको गोदावरी जेष्ठ नागरिक भवनमा भएको उक्त सम्मान कार्यक्रममा नगरपालिकाका नगरप्रमुख हरी सिह साउँद, उप प्रमुख रत्ना कडायत र वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशीले टिका र खादा लगाएर जेष्ठ नागरिकलाई सम्मान गरेका थिए । सोही अवसरमा प्रत्येक जेष्ठ नागरिकलाई नगरपालिकाको स्वास्थ्य शाखा मार्फत एक एक सेट कम्बल पनि वितरण गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख हरी सिह साउँदले बालबालिका जस्तै जेष्ठ नागरिकलाई पनि स्याहारको आवश्वकता रहेको बताए । उनले जेष्ठ नागरिकको सम्मानका लागि केन्द्र सरकारदेखि स्थानिय सरकारले बिभिन्न कामहरु गरिरहेको बताए ।

उनले जेष्ठ नागरिकको सम्मान स्वरुप चिनोको रुपमा कम्बल वितरण गरिएको बताए । जेष्ठ नागरिक भवन विस्तारका लागि आफूहरुले थप पहल गरिरहेको नगरप्रमुख साउँदले बताए ।
‘यस क्षेत्रमा हामीले जेष्ठ नागरिकका लागि भवन निर्माण गरिदिएका छौ । यसबाट जेष्ठ नागरिकलाई आफ्ना दुःख सुख साटासाट गर्न सहज भएको छ’ उनले भने ‘जेष्ठ नागरिकले पनि आफ्नो अधिकार प्राप्तीका लागि सहज हुन आवश्यक छ ।’ उनले जेष्ठ नागरिकको स्वास्थ्य समस्या सामाधानका लागि नगरपालिकाले शिविर संचालनका लागि योजना बनाइरहेको बताए । ‘आँखाको जाँच गर्नका लागि हामीले नगरपालिकामा शिविर संचालन गर्दैछौ’ उनले भने ।

नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जेष्ठ नागरिकको सम्मानका लागि हरेक बर्ष नगरपालिकाले कार्यक्रम गर्दै आएको बताईन् । उनले नगरपालिकाले बाटो घाटो मात्रै नबनाई जेष्ठ नागरिकको पनि सम्मान गर्ने गरेको बताईन् ।
उनले राज्यले अब जेष्ठ नागरिकको बृद्धि भत्ता बढाएर १० हजार पुगाउने पर्ने बताईन् । ‘अहिले सरकारले १ सयबाट सुरु गरेको बृद्ध भत्ता ४ हजार पुगाएको छ । अब यसलाई बढाएर १० हजार नै पुगाउनु पर्छ’ उनले भनीन् ‘यसो गर्न सकेमा जेष्ठ नागरिकले औषधि उपचार र मन लागेको मिठो मसिनो खान सक्छन ।’
उनले राज्यले भत्ता बढाएपछि घर परिवारबाट पनि जेष्ठ नागरिकको स्वाहार सुसारका साथै माया दिन आवश्यक रहेको बताईन् । उनले गोदावरी नगरपालिका सधै जेष्ठ नागरिकको हक हितमा काम गर्ने बताईन् ।

सम्मान पाउँदा जेष्ठ नागरिक दंग
गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष खडक राज जोशीले जेष्ठ नागरिकलाई सम्मान गरेकोमा धन्यावाद ज्ञापन गरे । उनले नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए ।
साम्मानित भएका जेष्ठ नागरिक गोदावरी नगरपालिका – ४ का मेख राज ओझाले सम्मानित हुन पाउँदा खुसि लागेको बताए । उनले राज्यले भत्ता पनि दिइरहेको र यसरी सम्मान पनि गरेको देखेर अझै केही बर्ष बाच्ने आशा जागेको बताए । ‘अझै केही बर्ष बाचिदिए हुँन्थ्यो जस्तो लाग्छ’ उनले भने ‘पहिलोको व्यवस्था भन्दा अहिलेको व्यवस्थामा जेष्ठ नागरिकको लागि राम्रो भएको छ ।’
सम्मानित भएका गोदावरी नगरपालिका – १० का ७८ बर्षिय देवि राम डगौराले जिवनमा पहिलो पटक राज्यका निकायबाट सम्मान पाएको बताए । बैसाखीको साहारामा हिडडुल गर्ने उनले सम्मान पाउँदा निकै खुसि लागेको बताए ।
‘जिवनभर लेवरी, हलो जोत्ने काम गरियो । कहिले यस्ता कार्यक्रममा आइएन’ उनले भने ‘अहिले बुढो भएपछि पहिलो पटक सम्मान पाउँदा निकै सुखि लागेको छ ।’


















