काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने बताएका छन् ।
१४ औं महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने दाबी गरे ।

‘हिजो तपाईँहरूलाई थाहै छ, देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले महाधिवेशनले त्यस्तो निर्णय गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार निर्माणको जिम्मा आफूले लिने बताए ।
‘महाधिवेशनले त्यो निर्णय गर्न सक्नुपर्छ। त्यो निर्णय गरेको खण्डमा गाउँदेखि केन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने ।
सभापति देउवाले मञ्चबाटै भोट समेत मागे । उनले मञ्चबाटै भने,‘मलाई एकपटक जिताइदिनुस् ।’ कांग्रेसको महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र सुरु भएको छ । भोलिबाट निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले आजै बन्दसत्र सक्ने तयारी कांग्रेसले गरेको छ ।















