अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा संचालित अटोरिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि अटोरिक्सा चालक आन्दोलित बनेका छन । प्रहरीले मापदण्ड विपरित संचालित २ सय ३ अटोरिक्सा एकैपटक नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएपछि अटोरिक्सा चालक आन्दोलित बनेका हुन ।
उनीहरुले तत्काल लाइसेन्स बनाउन नसकिने भएकाले कारवाही गर्नु अव्यवहारीक भएको बताएका छन ।

आक्रोशित अटोरिक्सा चालकहरुले अत्तरियाको पुर्व रोडमा ट्राफिक पोष्ट अगाडी सडक चक्काजाम गर्नुका साथै प्रदेश ट्राफिक कार्यालय घेराउ समेत गरेका छन ।
अटोरिक्सा चालक चन्द्रकला भट्टले लाइसेन्स नभएको भन्दै एक्कासी जरिवाना असुन्न थालिएपछि आफूहरु आन्दोलित बनेको बताइन् । लाइसेन्स नै खुलेको छैन कहाँबाट ल्याउने भनेका थियौ । उनीहरुले त्यसोभए ५ सय तिरर जाने भने’ उनले भनीन ‘दिउँसो ३ बजेदेखि अटो भित्र राखेका थिए । अहिले ५/५ सय जरिवाना माग्न थाले । दिनभरी ५ सय कमाइ हुन्न हामीले कहाँबाट जरिवाना तिर्ने ।’ उनले लाइसेन्स नै नखुलेको समयमा लाइसेन्स बनाउन भनेपछि आफूहरु समस्यामा परेको बताइन् ।
अटो चालक बिक्रम बहादुर खड्काले एक्कासी आफूहरुका अटोरिक्सा ट्राफिक कार्यालय भित्र हालेर तालिम दिएर जरिवाना तिर्न लगाएको बताए । उनले दिनमा ५ सय कमाउन नसकिने अवस्थामा दिनकै कसरी ५ सय तिर्ने भनेर आन्दोलनमा उत्रिएको बताए । ‘दिनमा ५ सय कमाई हुन्न । लाइसेन्स नभएको भन्दै दिनकै ५ सय तिर्न थालेपछि कसरी अटो चलाउने’ उनले भने ‘न लाईसेन्स खुल्छ । न अगाडी सूचना नै गरियो हामीले एक्कासी कहाँबाट लाईसेन्स ल्याउने ।’


सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले पटक– पटक आवश्यक कागजात बनाउन भन्दा पनि अटेरी गरिएपछि बजार क्षेत्रका मापदण्ड विपरित संचालित अटोरिक्सा नियन्त्रणमा लिएको बताए ।
‘आज अभियानकै रुपमा अत्तरियाका चारैतिर जति पनि बिना लाइसेन्स र परमिट बिनाका अटोरिक्सा छन वहालाई भित्र ल्याएर काउन्सलिङग गर्ने, जति सक्यो छिटो लाइसेन्स बनाउन सम्झाउने काम गरेका छौ’ उनले भने ‘बिना लाइसेन्स सवारी साधन संचालन गरेको खण्डमा गरिने कारवाही स्वरुम जरिवाना पनि तिराएर छाडिरहेका छौ ।’ उनले यो अभियान धनगढी लगायतका शहरहरुमा संचालन हुने बताए ।
उनले लाईसेन्स नभएपनि चल्छ भन्ने प्रवृति रोक्नको लागि अभियान संचालन गरिएको बताए । उनले भने ‘सवारी चालक अनुमति पत्र खुलिरहेको छ त्यहाँ अप्लाई गर्नुप¥यो । लाइसेन्स यातायात व्यवस्था कार्यालयले दिने हो ट्राफिक प्रहरीले दिने होइन ।’
यद्दपी आन्दोलन केही मथ्थर भएपछि केही अटो चालकहरुले भने जरिवाना तिरेका छन । जरिवाना तिर्ने अटोरिक्सालाई प्रहरीले छोडेको छ । केही अटो चालकले भने जरिवाना नतिर्ने अडान लिएका छन ।


















