अत्तरिया (कैलाली) – विकट क्षेत्र भनेर चिनिदै आएको ओलानीको भागेश्वर टोलमा शनिबार सांस्कृतिक एवम् भलिबलको समापन कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुती राखिदै थिए ।
त्यहि बिचमा अतिथिहरुले पनि मन्तव्य राखिरहेका थिए । कार्यक्रम मनोरन्जनात्मक बनेको भएपनि बोल्ने बक्ताहरु भने भावुक मुद्रामा भागेश्वरको कथा व्यथा सुनाइरहेका थिए । धेरैलाई भागेश्वरको विगतको पीडाले घोचिरहेको थियो ।

‘कुवामा भ्यागुता कुहिएका हुन्थे हामीले तिनलाई निकालेर पानि खानुपर्ने बाध्यता थियो’ कार्यक्रमको आयोजक शन्निकोट युवा क्लबका सल्लाहकार समिति संयोजक झंकर कुँवरले भने ‘अहिले यस क्षेत्रमा खानेपानीको पुरानो समस्या हटेको छ ।’
उनले स्थानिय सरकार आएपछि भागेश्वर टोलमा बाटोघाटो, सिचाइ सुविधा बिस्तार भएको बताए ।
‘अझै चाहे अनुसारका भौतिक पुर्वाधारको विकास हुन सकेको छैन’ उनले भने ‘तर, पहिलेको भागेश्वर र अहिलेको भागेश्वरमा धेरै फरक भएको छ ।’
कार्यक्रममा बोल्दै कैलाली जनपुस्तकालयका अध्यक्ष टिएन जोशीले १० बर्ष अगाडीको ओलानी क्षेत्र र अहिलेको ओलानीमा धेरै परिवर्तन आएको बताए । ‘खानेपानीको चरम समस्या थियो, बाटोघाटो थिएन, अस्पताल थिएन, धेरै मानिस भारत गएर रोजगार गर्नुपर्ने बाध्यता थियो । यो ठाउँ धेरै अभावबाट सृजिएको ठाउँ थियो’ उनले भने ‘स्थानिय सरकार आएपछि धेरै परिवर्तन आएका छन । वडा अध्यक्ष गुड्डु शाहीलाई भन्न चाहन्छु । अझै यो क्षेत्रमा धेरै समस्या बाँकी छन । त्यसका लागि तपाई अझै लाग्नुस् ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका गोदावरी नगरपालिका – १० का वडा अध्यक्ष रबिन्द्र शाहीले आफू भागेश्वरलाई आफ्नो आमा बुवा जति माया गर्ने बताए । वडा नम्बर १० को शान्निकोट मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्षले भने ‘मैले चुनावका बेला भागेश्वर मन्दिरमा आएर कसम खाएको थिए । यो क्षेत्रमा पानीको धारा बनाउँन्छु ।
यो ठाउँका शिक्षा, स्वास्थ्यका समस्याका बारेमा आवाज उठाउन्छु । छोरी बेटि दमन भएको कुरा बोल्छु भनेको थिए । अहिले आफूले उठाएका धेरै मुद्धा पुरा हुने क्रममा रहेका छन ।’ उनले खानेपानीको समस्या सामाधान भएको र बाटोमा ग्राबेल हालिएको बताए ।
उनले भने ‘यस क्षेत्रका युवाहरुका समस्याका बारेमा पनि हातमा हात मिलाएर अगाडी बढेको छु ।’ उनले आफूले निजी लगानीमा भागेश्वरका विपन्न १०/१२ जना बालबालिकालाई पढाइरहेको बताए । उनले संचार क्षेत्रले पनि यस क्षेत्रमा भएका समस्या बाहिर ल्याउन पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा विकासका कुरा भइरहदा सोही कार्यक्रममा दर्शक कक्षमा उभिएका रामबहादुर दमाइले भने भागेश्वरमा अझै मानविय विकास भने सोचेअनुसार नभएको बताए ।

‘पहिलेको तुलनामा भैतिक रुपमा भागेश्वरमा धेरै परिवर्तन भएका छन’ उनले भने ‘यहाँको मुख्य समस्या छुवाछुतको हो । टोलमा ९५ प्रतिशत दलित भएपनि दलित दलित बिच हुने छुवाछुत र गैरदलित र दलितबिच हुने छुवाछुदले जरा गाडेको छ ।’

२०२७ सालदेखि बस्ती बसेको उक्त टोलमा हाल करिब १ सय ५० घरधुरी बसोबास गर्दै आएका छन ।
‘बजारमा जाँदा कुनै समस्या छैन । गाउँघरमा अझै उस्तै समस्या छन । अहिले पनि गैरदलितको कुवामा हामीले छुन पाउँदैनौ ।’ उनले भने ‘दमाइको छुटै कुवाँ छ, कामीको छुटै कुँवा छ, क्षेत्रीको छुटै छ । अझै पनि एक अर्कोको कुवाँमा खुलेर जान सक्ने अवस्था छैन ।’ उनले अझै पनि म ठूूलै हुँ त सानै होस् भन्ने सोचका मानिसमा कायमै रहेको बताए ।
उनले भौतिक रुपमा भने पानी, बिजुली, सिचाई लगायतका सेवा भने बिस्तार भएको बताए ।
अर्का स्थानिय नरी दमाइले भने गाउँघरमा छुवाछुतको समस्या भएपनि पहिलेको तुलनामा केही कमि हुँदै गएको बताए । ‘पहिले जातभातका कुरा धेरै हुन्थे’ उनले भने ‘अहिले बिस्तारै यो समस्या केही कम हुँदै गएको जस्तो लाग्छ । तर, बुढापाका मानिसहरुले भने अझै पनि पहिलेकै जस्तो व्यवहार गर्छन ।’
उनले भौतिक रुपमा भने पहिलेको तुलनामा धेरै समस्या सामाधान भएको बताए ‘अहिले खानेपानी, बत्ती, बाटोघाटोको विकास भएको छ’ उनले भने ‘भागेश्वरको भाग्य चम्किदैछ । पहिले पुरै ओलानी यस्तो थिएन । अत्तरिया र धनगढीका मान्छे ओलानी भनेपछि त्यो ओलानीका मान्छे नै होइनन् भन्थे । अहिले गाउँमा अटो, मोटरसाइकल, जीप चलिरहेका छन । धेरै परिवर्तन भयो ।’
शिक्षा क्षेत्रमा पछि परेको ओलानीमा भौतिक विकासले गति लिएको भएपनि जातिय छुवाछुद, लैङ्गिक विभेद लगायतका सामाजिक समस्याले भने अझै जरो गाडेका छन ।

शनिबार शान्निकोट युवा क्लव र वडा नम्बर १० को आयोजनामा भएको खुल्ला पुरुष भलिबल कप प्रतियोगिताको समापन तथा बृहत् सांस्कृति कार्यक्रममा बिभिन्न सांकृतिक कार्यक्रम गरिएका थिए ।
कार्यक्रममा गायिका हेमन्ता भट्टराई, गायक तथा हास्य कलाकार भिम बिष्ट (अछामी रेखा), गायक तथा उद्घोषक प्रेम बम बोगटीले लगायत स्थानिय कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।
त्यस्तै कार्यक्रममा भलिबल प्रतियोगितामा प्रथम भएको आयोजक शन्निकोट युवा क्लव, द्धितिय भएको पूर्वी चोक युवा क्लव र तृतीय भएको एकता मिलन क्लवलाई पुरस्कार बितरण गरिएको थियो । जसअन्तरगत प्रथम हुनेले ९ हजार ९९९, द्धितिय हुनेले ६ हजार ६६६ र तृतिय हुनेले ३ हजार ३३३ पुरस्कार रकम पाएका थिए ।


















