अत्तरिया – कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालले आइसियु सेवा सुरु गरेको छ । अस्पतालले आफ्नो १६ औं बार्षिक उत्सवको अवसरमा ६ बेडको आइसियु र २ बेडको एनआइसियु सेवा संचालनमा ल्याएको हो ।
अत्तरिया क्षेत्रमा सरकारी तथा निजी स्तरबाट अहिले सम्म आइसियु सेवा संचानलन नभएको अवस्थामा पद्मा अस्पतालले पहिलो पटक सो सेवा सुचारु गरको हो । आइसियु सेवाको शुक्रबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिंह उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले पद्मा अस्पतालले व्यवसायिक मात्रै नभएर सेवाको रुपमा यस क्षेत्रका जनतालाई सेवा दिईरहेको बताए ।
उनले अत्तरिया क्षेत्रमा अस्पतालले आइसियु सेवा संचालन गर्नु यस क्षेत्रका जनताका लागि गौरवको कुरा भएको बताए ।
‘प्राइभेट पार्टनरसिपको आधारमा राज्य अगाडी बढेन भने कुनै ठाउँको विकास हुन सक्दैन’ उनले भने ‘हामीले पनि यस क्षेत्रमा प्राईभेट पार्टनरसिपका आधारमा अगाडी बढ्न सकेनै भने यस क्षेत्रको विकास सम्भव छैन ।’
उनले अस्पतालले आइसियु सेवा सुुचारु गरेपछि अब यस क्षेत्रका जनताले बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता हटेको बताए ।
अस्पतालका अध्यक्ष गजेन्द्र विर चन्दले अस्पतालले ग्रामिण क्षेत्रका जनतालाई स्थानिय स्तरमै सेवा दिनका लागि संचालनमा ल्याएको अस्पतालले आफ्नो सेवा विस्तार गर्दै गएको बताए ।
‘हामीले १५ बेडबाट सुरु गरेको यो अस्पताल अहिले ५० बेडमा पुगेको छ । हामीले सुरुमा हाडजोर्नीका सेवाबाट सुरु गरेका थियौ’ उनले भने ‘आजको मितिमा हामीले आइसियु सेवा सुरु गरेका छौ ।’
उनले अस्पतालले स्वास्थ्य सेवा संगै आफूहरुले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति पनि उत्पादनमा आफूहरु लागेको बताए ।
‘अहिले हामीले स्वास्थ्य जनशक्ति उत्पादन गर्नका लागि नर्सिङ कक्षा संचालनमा ल्याएका छौ’ उनले भने ‘आगामी बर्ष देखि एचएका कक्षा पनि संचालन गर्दै छौ । त्यस्तै अत्तरिया टेक्निकल कलेज संग सहकार्य गरेर ल्याव असिन्टेन्टको कक्षा पनि संचालन गर्दै छौ ।’
उनले आगामी दिनमा थप सेवा बिस्तार गर्दै यस क्षेत्रका जनतालाई सेवा दिन आफूहरु प्रतिबद्ध रहेको बताए ।
उनले सुदूरपश्चिममा सरकारी अस्पताल भन्दा पनि निजी क्षेत्रका अस्पतालहरुले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए ।
‘अहिले सुदूरपश्चिममा १८ देखि २० वटा निजी अस्पतालहरु संचालनमा आइसकेका छन । अहिले यस क्षेत्रका जनताको निजी अस्पतालहरुमा विस्वास बढ्दै गएको छ’ उनले भने ‘अत्तरिया क्षेत्रमा पनि नैतिक जिम्मेवारी बहन गरेर निजी क्षेत्रबाट यस अस्पतालले सेवा दिदै आएको छ ।’ उनले निजी अस्पताललाई सुधार गर्न राज्यको दृष्टिकोणमा परिवर्तन आउन आवश्यक रहेको बताए ।
अस्पतालकी प्रशासन प्रमुख मन्जु साउँदले अस्पतालले नियमित रुपमा सेवा बिस्तार गर्दै गएको बताईन् । उनले अहिले अस्पतालले सबै क्षेत्रका विशेषज्ञ डाक्टरको सेवा संचालनमा ल्याएको बताईन् । हाल हामीले इमर्जेन्सी सेवा, ओपिडी सेवा, इन्डोर सेवा, सिएसी सेवा, फिजियोथेरापी सेवा, आइयुसिडी, एम्बुलेन्स सेवा, अर्थो, जनरल सर्जन, फार्मेसी सेवा संगै हाल आइसियु, एनआइसियु सेवा संचालनमा ल्याएको प्रशासन प्रमुख साउँदले बताइन् ।
उनले डाइगोनिष्ट सेवा अन्तरर्गत एक्सरे, युएसजी, इसिजी, इको, इन्डोस्कोपी लगायतका सेवा संचालनमा रहेको बताइन् ।

उनले यसका अलवा नेपाल सरकार संग समन्वय गरेर आमा सुरक्षा कार्यक्रम र परिवार नियोजनका कार्यक्रम संचालनमा रहेको बताइन् ।
सिटी स्क्यान सेवा संचालनको तयारी
अस्पतालका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीले अस्तरिया क्षेत्रमा पहिलो पटक स्थापना भएको अस्पतालले यस क्षेत्रका जनतालाई सेवा दिन भरपुर प्रयार गरेको बताए ।
‘मलाई सम्झना छ । जतिबेला अत्तरियामा एक पनि अस्पताल थिएनन् त्यो बेला राति कोही बिरामी हुँदा औषधी लिन मेडिकल घचघच्याउनु पर्ने अवस्था थियो’ उनले भने ‘त्यो बेलामा हामीले ५ जना मिलेर अस्पताल संचालन ग¥र्यौ । हामीले गरेको यो काममा साथ दिनुभएकोमा यस क्षेत्रका सबै नागरिकलाई धन्यावाद ज्ञापन गर्दछु ।’
उनले आफूहरुले पहिल्यै जुन गतिमा सेवा बिस्तार गर्नुुप-थ्यो त्यो गर्न नसके पनि हाल आएर अस्पतालले धेरै सेवा विस्तार गरिसकेको बताए ।
उनले हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग, रेडियोलोजिष्ट, फिजिसियन, अर्थो डाक्टर मार्फत सेवा दिइरहेको बताए ।
हामीले यसरीनै आगामी दिनमा यस क्षेत्रका जनताको साथ रहिरहे अन्य सुविधा पनि थप गर्दै लैजाने उनले बताए ।
‘हामीले एक डेढ महिना भित्रमै अस्पतालमा सिटी स्क्यान सेवा पनि संचालनको तयारी गरिरहेका छौ’ उनले भने ‘यी सेवा पहिल्यै गर्नुपर्ने भएपनि केही ढिलाई भएको थियो । अब भने हामी सबै सेवा संचालन ल्याउदै छौ ।’
उनले अस्पतालको सेवा बिस्तारले यस क्षेत्रका जनतालाई सेवा पुग्नेमा आफू बिसस्त रहेको बताए ।
सेवा संगै गुणस्तर सुधारमा जोड
अत्तरियामा पहिलो पटक स्थापना भएको अस्पताल यस क्षेत्रका जनताको भरोसाको केन्द्र बन्नका लागि सेवा संगै गुणस्तर सुधारमा पनि जोड दिन आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन ।
आइसियु सेवाको उद्घाटन कार्यक्रममा सहभागि वक्ताहरुले गुणस्तर सुधार गर्न सके अस्पताल थप सशक्त बन्ने बताए । स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा.लक्ष्मी राज पाठकले निजी अस्पतालमा केही विकृति भएपनि त्यसलाई सरकारले नियमन गर्न आवश्यक रहेको बताए ।
उनले अत्तरियामा पहिलो पटक खुलेको अस्पतालले आफ्नो सेवा विस्तार भन्दा पनि गुणस्तर बिस्तारमा पनि जोड दिनुपर्ने बताए । ‘अहिलेको समयको माग भनेको गुणस्तर सेवाको हो’ उनले भने ‘गुणस्तर भनेको व्यवहारमा देखिनु पर्छ ।’
अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका प्रमुख डम्मर पालले पद्मा अस्पताले यस क्षेत्रका जनतालाई गुणस्तर सेवा दिनमा ठूलो भूमिका खेलेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले पद्मा अस्पतालले आफूहरुले संचालन गर्ने विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रममा नियमित सहयोग पाइरहेको बताए । उनले भने ‘यहाँहरुले आगामी दिनमा पनि यसरी नै गुणस्तरीय सेवा दिदै जानुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’


















