अत्तरिया – शरिरका बिभिन्न भागमा घाउँ भएका, झुत्रो लुगा लगाएका बेवारिसे जस्तो देखिने एक युुवक सडकमा हिडिरहेका थिए । सडकमा बालबालिकाले ति युवकलाई जिस्क्याउँदै झन दुःख दिईरहेका थिए । त्यतिकैमा ति युवकलाई अत्तरियाको विजयनगरमा बस्ने कमल जोशी (पौडेल) ले देखिन् ।
उनले बेवारिसे जस्तो देखेपछि ती युवकलाई आफ्नो घरमा राखेर लुगा फेरिदिइन् । घाउमा पट्टि बाधिदिइन् ।


‘अहिलेको समाज पनि कस्तो हुँदै गइरहेको छ । बेवारिसे युवकको उद्धार गर्नुको साटो सबैले लखेटिरहेका थिए’ उनले भनीन् ‘मैले उद्धार गर्नु पर्छ भनेर घरमा राखे ।’ उनले सुरुमा ती युवक मानिस देखि डराइरहेको भएपनि पछि बिस्तारै थोरै बोल्न थालेको बताईन् । ‘नाम ठेगाना भने भन्न सकिरहेको छैन’ उनले भनीन ‘तर, हामीले भनेको कुरा बुझेको जस्तो लागिरहेको छ ।’
जोशीले सडकबाट उद्धार गरेर घरमा राखेपछि ती युवकलाई सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको संरक्षण गर्ने संस्थाको खोजी गरेको बताईन् ।
उद्धारमा थ्रिडिभिएलको साथ

अत्तरिया क्षेत्रका सडकमा बेला बेलामा बेवारिसे मानिस भेटिने गरेका भएपनि यस क्षेत्रमा यस्तो मानिस राख्नका लागि कुनै संस्था र सम्पर्क व्यक्ति नहुँदा समस्या हुने गरेको छ । तर, पछिल्लो समय यस क्षेत्रमा सडकमा भेटिएका बेवारिसे मानिसहरुको उद्धारका लागि अत्तरियामा मुख्य कार्यालय रहेको थ्रिडिभिएल क्रियसन संस्थाले सहजिकरण गर्न थालेको छ ।
सोही क्रममा जोशीले उद्धार गरेर घरमा राखेका युवकको पनि थ्रिडिभिएलले उद्धारमा सहजिकरण गरेको थियो । थ्रिडिभिएलले ती युवकलाई उद्धार गरेर धनगढीमा रहेको मानव सेवा आश्रममा पठाएको जनाएको छ । थ्रिडिभिएलले ती युवकलाई जोशीको घरबाट गोदावरी नगरपालिकाको एम्बुलेन्स मार्फत उद्धार गरी आश्रममा लगेको संस्थाका अध्यक्ष दिपक ओझाले बताए ।
प्रदेशकै जक्सनका रुपमा रहेको अत्तरियाका सडकमा बेवारिसे मानिस बेलाबेलामा भेटिने गरेका छन । जिल्ला भित्र तथा बाह्य जिल्लाबाट आएका यस्ता मानिसहरु सडकमा अलपत्र भेटिने गरेका भएपनि यस्ता सडकमा बेवारिसे मानिस राख्नको लागि भने कुनै स्थान नहुँदा समस्या हुने गरको छ ।

थ्रिडिभिएल क्रियसनका सचिव एल आर ओझाले सडकमा भेटिएका मानिसको उद्धार गर्न आफूहरुले बेला बेलामा फोन आउने गरको बताए । उनले सडकमा भेटिएका बेवारिसे मानिसको उद्धार गरी धनगढीमा रहेको मानव आश्रममा पठाउने गरेको बताए । ‘अत्तरियाबाट उद्धार गरेर धनगढी लग्न निकै समस्या हुने गरेको छ’ उनले भने ‘उद्धार गरेपछि प्रहरी या वडाको सिफारिस बनाउन पर्छ । यातायातको साधान पनि खोज्नु पर्छ । जसमा निकै झन्जट हुने गरेको छ ।’
शुक्रबार युवकको उद्धार गरेकी जोशीले अब अत्तरियामै यस्ता मानिस राख्न आश्रम बनाउन पहल गर्नुपर्ने बताईन् । ‘अत्तरिया क्षेत्रमा यस्ता बेवारिसे मानिस धेरै देखिने गरेका छन’ उनले भनीन् ‘यस्ता मानिसलाई अत्तरियामै आश्रम बनाएर राख्न सके सहज हुने थियो ।’


















