खाेज्नुहाेस

कपडा व्यवसायीका लागि खल्लो दशैं

Image

अत्तरिया – ‘बिहान ४ बजे नै पसल खोल्नु पर्‍थ्र्यो । पसलमा ३/४ जना काम गर्ने मान्छे हुन्थे । सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो’ विगत सम्झिदै अत्तरिया चोकमा फेन्सी पसल सञ्चालन गर्दै आईरहेका लिला राम सापकोटाले भने ‘यो बर्ष म एक्लै पसलमा छु । किन्ने ग्राहक नआउँदा मै पनि खाली बसेको छु ।’

उनले यस बर्ष पनि दशैंमा व्यापार उकासिने लक्षण नदेखिएको बताए । ‘विगतमा सोह्र श्राद्ध सुरु भएदेखि नै व्यापार पिकअप हुन्थ्यो’ उनले भने ‘अहिले दशैं आउन केही दिन बाँकी रहदाँ पनि व्यापार छैन । पहिलेको तुलनामा अहिले ३० प्रतिशत पनि व्यापार छैन ।’

attariya hospital

गोदावरी चेम्बर अफ कमर्सका सचिव समेत रहेका सापकोटाले विगत ३ बर्ष देखि कपडाको व्यापार धरासायी भएको बताए ।

१८ बर्ष देखि फेन्सी पसल संचालन गरेका सापकोटाले पसलमा आएका ग्राहकले पनि खासै सामान नकिन्ने गरेको बताए । ‘अहिले आर्थिक मन्दी धेरै आएको छ । मानिसहरुको किन्ने क्षमता कम भएको छ’ उनले भने ‘कोरोना महामारीले नै सबैलाई मार पारेको छ ।’ उनले अझै पनि केही दिन बाँकी भएकाले व्यापार हुने आशामा आफू रहेको बताए ।

अत्तरियामा रहेको शिव कृपा जनरल स्टोरका संचालक पशुपती खनालले पनि यस बर्ष व्यापार बढ्ने संकेत नदेखिएको बताए । उनले घटस्थापनाकै दिनमा कपडाको धेरै व्यापार हुने गरेकोमा यो बर्ष व्यापार निकै कम भएको बताए ।

navjiwan hospital

‘दशैंका लागि भनेर काठमाण्डौं गएर ८/१० लाखको सामान थपियो । तर, व्यापार हुने संकेत छैन’ उनले भने ‘व्याजमा पैसा लिएर सामान ल्याएको हो । व्याज तिर्नै समस्या होला जस्तो छ ।’ उनले यो बर्ष व्यवसायीहरुका लागि खल्लो दशैं भएको बताए ।

न्यू सस्तो वेबी सपकी संचालिका बसन्ती साउँदले दशैंमा बजारमा हुनुपर्ने जस्तो चहलपहल हुन नसकेको बताइन् । ‘विगतका बर्षको तुलनामा यो बर्ष निकै कम ग्राहक पसलमा आउने गरेका छन’ उनले भनीन् ‘पहिले दशैंमा निकै भिड हुन्थ्यो । एक चोटी हात खालि हुन्थेन । यो साल बस्या बस्यै छौ ।’

उनले विगतमा दशैंको २/४ दिन अगाडी एकै दिनमा २ लाख सम्मको कपडा बिक्रि हुने गरेकोमा यो बर्ष १५/२० हजार पनि मुस्किलले व्यापार भईरहेको बताइन् । उनले गत बर्षको तुलनामा यो बर्ष अझै कम व्यापार भएको बताइन् ।

कडेल जनरल स्टोरका संचालक बाबुराम कडेलले बिक्रिका लागि समानको पनि अभाव भएको बताए । उनले काठमाण्डौंमा पनि नयाँ सामान नपाइएको बताए ।

‘पुजीको पनि अभाव छ । काठमाण्डौंमा पनि सामान पाइरहेको छैन’ उनले भने ‘कोरोना माहामारीका कारण पनि धेरैको रोजगारी गुमेकाले किन्ने ग्राहकहरु संग पनि पैसाको अभाव भएर होला, व्यापार नभएको ।’ उनले पसलमा दिनभरीमा मुस्किलले ७/८ जना मात्रै समान किन्ने ग्राहक आउने गरेको बताए ।

कोरोना महामारी फैलिनु अगाडी दशैंको समयमा कपडाको व्यवसाय ह्वातै बढ्ने गरेको थियो । तर, बिगत २ बर्ष देखि कोरोना महामारीका कारण थलिएको कपडाको व्यापार दशैमा उठ्ने आशा गरिएकोमा यो बर्ष पनि व्यापार नभएपछि व्यवसायी निरास बनेका छन ।