अत्तरिया– कैलालीको अत्तरियामा सञ्चालन भएको योगेन्द्र शाह स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधी गोदावरी नगरपालिका– १ विजयनगरले हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा गोदावरी नगरपालिका– २ बनखेतलाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयनगरले उपाधी चुमेको हो ।
टस जितेर ब्याटिङ रोजेको विजयनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनायो । विजयनगरका खेलाडी आशिष गुप्ताले ३३ तथा भुवन अवस्थीले ३० रन बनाए । त्यसबाहेक विजयनगरलाई सम्मानजनक स्कोर बनाउनका लागि खगेन्द्र जोशी र महेश शाहले आक्रामक व्याटिङ गरेका थिए । ९ बल खेल्दै जोशीले ३ छक्का प्रहार गरी २१ रन बनाउदा शाहले १५ बलमा १ चौका र १ छक्काको मद्दतले २५ रन बनाए ।

बलिङमा टिम बनखेतका खेलाडी अनिल बिकले ३ विकेट लिए । त्यसबाहेक सुजन मल्ल, तेज जोशी र टेक माझीले समान १/१ विकेट लिएका थिए । १३७ रनको विजयी लक्ष्य पछ्याउन मैदान उत्रिएको टिम बनखेतले १८ दशमलव ४ बलमा सबै विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो । टिम बनखेतका खेलाडी सुजन मल्लले २७ र हरिश साउँदले २४ रन बनाएर प्रतिष्पर्धालाई जिवितै राखेका भएपनि त्यसपछि का अन्य खेलाडीहरु टिक्न नसक्दा टिम बनखेतले हार बेहोर्नु पर्यो ।

बलिङमा विजयनगरका खेलाडी खगेन्द्र जोशीले ३ विकेट लिए भने सुरेश बिक र भुवन अवस्थीले समान २/२ विकेट लिए । त्यसबाहेक निरज भट्ट, हिमाल बोगटी र श्याम बोगटीले पनि १/१ विकेट लिए ।
खेलको म्यान अफ द म्याच भुवन अवस्थी चुनिए । प्रतियोगिता अवधीभर ब्याटिङमा ५० रन तथा बलिङमा १३ विकेट लिएका जोशी प्लेयर अफ द टुर्नामेन्ट पनि घोषित भए । त्यस्तै प्रतियोगिता अवधीभर १४ विकेट लिएका गोदावरी नगरपालिका– ११ का खेलाडी प्रकाश बिक बेस्ट बलर तथा उदयीमान खेलाडी घोषित भए । त्यस्तै प्रतियोगितामा १२४ रन बनाएका गोदावरी नगरपालिका– ११ का खेलाडी राजेश बिक बेस्ट ब्याट्सम्यान घोषित भए ।
उपाधी जितेसँगै टिम विजयनगरले नगद रु. ५१ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको टिम बनखेतले नगद रु. २१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर तथा उदयीमान खेलाडीले पनि आर्कषक पुरस्कार प्राप्त गरेका थिए ।
गोदावरी नगरपालिका– १ विजयनगर बस्ने स्वर्गिय योगेन्द्र शाहको स्मृतिमा विजयनगर टोलका युवाहरुले प्रतियोगिताको आयोजना गरेका हुन् । यही असोज २८ गतेदेखी सुरु भएको प्रतियोगिता आज (मंगरबार) सम्पन्न भएको हो ।

















