अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शनिबार संघले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
संघका अध्यक्ष कमल कडायतको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पुर्व राज्यमन्त्री प्रकाश बहादुर बम रहेका थिए ।


कार्यक्रममा बोल्दै उनले मानिस सन्तुष्ट नभएसम्म खुसी हुन नसक्ने बताए । उनले मानिसहरुमा कुनै न कुनै कुराको अभाव खड्किरहने भएकाले खुसी हुन नसकेको पनि बाए । ‘हामी भगवानसँग सुखी हौ, खुसी हौँ भनेर आशिष माग्छौँ, तर हामी कोही खुसी छैनौँ’ उनले भने ‘जबसम्म हामी सन्तुष्ट हुन सक्दैनौँ तब सम्म खुसी रहन सक्दैनौँ ।’ उनले दशैँको अवसरमा सबैले खुसी हुन सिक्नुपर्ने बताए । उनले चाडपर्वका अवसरमा आपसी माया, आत्मियतालाई आत्मसाथ गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज कार्कीले चाडपर्वको समयमा सबैलाई खुसी दिने कोसिस आफूहरुको रहने बताए । उनले यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउने तथा चाडपर्वका समयमा सुरक्षा दिँदा आफ्नो खुसी अरुमा देख्ने गरेको बताए । उनले चाडपर्वमा सबैले खुसी साटासाट गर्नुपर्ने बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, अत्तरिया उद्योग वाणिज्य संघका पुर्व प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि सहित अत्तरिया क्षेत्रमा रहेका विभिन्न वस्तुगत तर्फका व्यवसायीहरुको प्रतिनिधित्व रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव गम्भीर साउँदले गरेका थिए ।

















