खाेज्नुहाेस

गेटामा एमबीबीएस पढाइका लागि ५० सिट निर्धारण, सुदूरपश्चिममै चिकित्सक उत्पादन हुने बाटो खुल्यो

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा पहिलोपटक चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस) अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययन गर्न ५० सिट निर्धारण गरिएको छ। चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै यस क्षेत्रमै चिकित्सक उत्पादन गर्ने लामो समयदेखिको प्रतीक्षा पूरा हुने बाटो खुलेको हो।

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट उपलब्ध गराएको हो। विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार जोशीका अनुसार एमबीबीएसबाहेक नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा समेत विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरिएको छ।

attariya hospital
navjiwan hospital

उपकुलपति जोशीका अनुसार विश्वविद्यालयले नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (बीएस्सी एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट पाएको छ। यससँगै यी चारवटा शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण भएका छन्।

एमबीबीएस पढाइ सुरु हुने भएपछि सुदूरपश्चिमका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि अन्य प्रदेशका विश्वविद्यालय तथा मेडिकल कलेजमा निर्भर हुनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै चिकित्सक उत्पादन हुँदा भविष्यमा प्रदेशका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति उपलब्ध गराउन पनि सहयोग पुग्न सक्छ।

सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा र दक्ष जनशक्तिको उपलब्धता लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ। जटिल रोगको उपचार, विशेषज्ञ चिकित्सकको पहुँच र स्वास्थ्य सेवाका लागि अन्य प्रदेशमा जानुपर्ने अवस्थालाई कम गर्न गेटामा चिकित्सा शिक्षा सञ्चालन महत्त्वपूर्ण मानिएको छ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा अघिल्लो वर्षको तुलनामा ४१८ सिट थप गरेको जनाएको छ। त्यस्तै, एमबीबीएसतर्फ मात्रै ११० सिट वृद्धि गरिएको छ।