अत्तरिया– गगन पक्षधरको नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्न र कपडा सहयोग गरेको छ । शुक्रबार ‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ भन्ने मुल नाराका साथ गोदावरी नगरभित्रका विभिन्न ३ परिवारलाई कांग्रेस गोदावरीले खाद्यान्न तथा कपडा सहयोग गरेको हो ।

नगरसभापति रबिन्द्र शाही (गुड्डु) ले हिन्दुधर्मावलम्बीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा कसैलाई पनि खिन्नता बोध नहोस भन्ने सोचेर सहयोग गरिएको बताए । उनका अनुसार गोदावरी नगरपालिका – १ का ३ परिवारलार्ई नगद सहित करिब ५० हजार बराबरका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा सहयोग गरिएको हो ।

कांग्रेस गोदावरीले यसअघि पनि सो नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको थियो । सहयोग सामग्री वितरण कार्यमा नगरसभापति गुड्डु सहित कांग्रेस कैलाली क्षेत्र नं. ४ का पुर्वसचिव जयराज फुलारा, अभियानकर्ता योगेश भट्ट, कांग्रेसका युवा नेताहरु पदम ओझा र नारायण रावल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमममा बोल्दै अभियानकर्ता योगेश भट्टले दशैँको मुखमा खानलाउन अभाव भएका केही परिवारलाई कांग्रेस गोदावरीले सहयोग गरेको बताए । उनले वडासदस्य गम्भीर साउँदको विशेष पहलमा वडा नं. १ मा रहेको विपन्न परिवारलाई सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि गोदावरी कांग्रेस सामाजिक कार्यमा सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

















