खाेज्नुहाेस

आज बडादसैँको छैटौँ दिन, माता कात्यायनीको पूजा-आराधना गरिँदै

Image

नेपालीहरूको महान् पर्व बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन । आज नवदुर्गामध्ये छैटौँ स्वरूप माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ ।

धार्मिक मान्यताअनुसार माता कात्यायनीको श्रद्धापूर्वक पूजा गर्नाले भक्तजनले धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ। साथै, रोग, शोक, सन्ताप र भयबाट मुक्ति मिल्ने तथा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । अब जानौँ, माता कात्यायनीसँग जोडिएको पौराणिक कथा ।

attariya hospital
navjiwan hospital

पौराणिक कथाअनुसार महर्षि कात्यायनले भगवती पराम्बाको कठोर तपस्या गरेका थिए। उनले देवीलाई पुत्रीका रूपमा प्राप्त गर्ने इच्छा राखेर आराधना गरेका थिए। महर्षिको भक्ति र तपस्याबाट प्रसन्न भएकी देवीले उनकी पुत्रीका रूपमा जन्म लिइन्। त्यसपछि उनको नाम कात्यायनी रहन गएको धार्मिक कथन छ।

माता कात्यायनीको स्वरूप अत्यन्त भव्य र दिव्य रहेको वर्णन धर्मशास्त्रहरूमा पाइन्छ। उनका चार हात छन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा र तल्लो हात वर मुद्रामा रहेको हुन्छ ।

त्यस्तै, देब्रेतर्फको माथिल्लो हातमा तरबार र तल्लो हातमा कमलको फूल सुशोभित हुन्छ। सिंहलाई उनको वाहनका रूपमा चित्रण गरिन्छ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णलाई पति रूपमा प्राप्त गर्ने कामनासहित वृन्दावनका गोपिनीहरूले पनि माता कात्यायनीको पूजा गरेका थिए । त्यसैले माता कात्यायनीलाई ब्रजमण्डलकी अधिष्ठात्री देवीका रूपमा समेत मान्ने परम्परा छ।