अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ शेर बहादुर देउवा पक्षको अधिवेशन विवादित बनेको छ । बुधवार अत्तरियामा सम्पन्न क्षेत्रीय अधिवेशन होटलको बेड रुममा एकलौटी गरिएको भन्दै उजुरी परेपछि अधिवेशन विवादित बनेको हो ।
बिहीबार अधिवेशनमा सहभागी २९ जनाले सीमित व्यक्तिको स्वर्थमा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै उजुरी दिएका छन् । उनीहरूले पत्रकार सम्मेलनको आयोजना गरेर उजुरी दिएको बताउँदै एकलौटी गरेर गरिएको अधिवेशन मान्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि निर्मल विष्टले बुधवार ३ बजे अधिवेशनको उद्घाटन सत्र सकिएपछि बन्द सत्र नै नभएको बताए । ‘हामी अधिवेशन स्थलमा साँझ ८ बजे सम्म बस्दा पनि कुनै सूचना आएन’ उनले भने ‘त्यसपछि अर्को होटलमा मनोनयनको फारम भरिँदै छ भन्ने सूचना पाए पनि म लगायत साथीहरू जाँदा होटल सत्कारको २ नम्बर कोठामा निर्वाचन अधिकृत राखेर मनोनयन भइरहेको पायौ ।’ उनले होटल नमस्तेको पार्टी प्यालेसमा खुला सत्र भएर होटल सत्कारको बेड रुम कोठामा फारम भराउनु अवैध भएको भन्दै विरोध गरेको बताए । ‘अवैधानिक रूपमा राती एउटा होटलको कोठामा कसैको गर्लफ्रेन्ड, कसैको वाईफ्रेण्ड छानिएको छ’ उनले भने ‘यिनीहरू देउवा पक्षको नाम भजाएर खाने धमिरा हुन । यिनीहरूकै कारण कांग्रेस पनि अहिलेको अवस्थामा पुगेको छ ।’

उनले होटलको कोठामा अधिवेशनको फारम भराउने मुख्य नायक गोदावरीका मेयर वीरेन्द्र भट्ट, गौरीगंगाका शेरबहादुर देउवा, वीर बहादुर चोखाल लगायत रहेको बताए । उनले बेड रुम भएको कोठामा निर्वाचन अधिकृत बसाएर स्वेच्छाचारी अधिवेशन गराइएको बताए । उनले क्षेत्रीय अधिवेशन बदर गराउनका लागि आफूले जिल्ला केन्द्रीय समितिलाई आग्रह गरिएको बताए ।
क्षेत्रीय प्रतिनिधि राकेश चन्दले ताना शाही तरिकाले क्षेत्रीय अधिवेशन गरिएको बताए । उनले यस अधिवेशनलाई कुनै पनि हालतमा स्वीकार नसकिने बताए । उनले आफूहरूले त्रुटि सच्याउनका लागि राति नै फोन गर्दा कुनै प्रतिक्रिया नदिएको बताए । उनले आफू अनुकूल व्यक्तिलाई छनोट गरिएको बताउँदै यो मान्य नहुने बताए ।
क्षेत्रीय प्रतिनिधि चक्र बहादुर कलेलले महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समिति भूमिगत शैलीमा आफ्ना खल्तीका मान्छेहरूलाई राखेर बनाइएको बताए । उनले निर्वाचित अधिकृतलाई कब्जामा लिएर गरिएको निर्वाचन नेपाली कांग्रेसको लोकतान्त्रिक पद्धतिको बलात्कार भएको बताए । ‘निर्वाचन सेड्युल आएर इच्छुक व्यक्तिले नोमिनेसन फर्म भर्न पाउनु पथ्र्यो, तर हामीले निर्वाचन अधिकृत, जिल्ला संयोजकलाई फोन गर्न खोज्दा पनि वहाँहरू सम्पर्कमा आउनु भएन’ उनले भने ‘साँझ ८ बजे सम्म पर्खिदा पनि कुनै सम्पर्क नभएपछि वहाँहरूले नोमिनेसन फारम भरेका कुराहरू कब्जामा लिइएपछि नयाँ फारम भरेर आज बिहान यहाँ नाम टाँसिएको छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।’ उनले अहिलेको निर्वाचनलाई अवैध घोषणा गरेर पुन नियमित महाधिवेशन गरियोस् भन्ने आफूहरूको माग रहेको बताए ।
क्षेत्रीय प्रतिनिधि अनिल मल्लले निर्वाचनका कुनै प्रक्रिया पुरा नगरिएको बताए । उनले अधिवेशन उद्घाटन गरिएपछि आधा घण्टा पछि पुनः भित्र आउने भनिए पनि आफूहरू राती ८ बजे सम्म बस्दा पनि कोही सम्पर्कमा नआएको बताए । उनले बन्द सत्र कहाँ भयो भन्ने नै आफूलाई थाहा नभएको बताए ।
बुधवार सम्पन्न अधिवेशनबाट क्षेत्रीय सभापतिमा वीर बहादुर चोखाल चयन भएको सूचना टाँस गरिएको छ । चोखाल यसअघि नेपाली कांग्रेस गोदावरी नगर समितिको सभापति रहेका थिए । अधिवेशनबाट ३५ जना महाधिवेशन प्रतिनिधि पनि चयन गरिएको सूचना टाँसिएको छ । होटलको हल बाहिर टासिएको सूचना भने च्यातचुत पारिएको छ ।


















