बाजुरा – बाजुरावासी कामको सिलसिलामा लेक औल आउजाउ गर्दा ज्यान जोखिममा राखेर काठेपुल तर्न बाध्य छन् । काठे पुल फेर्नका लागि यहाँका स्थानीयले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गर्दै आएको भए पनि उनीहरूको त्यो माग भने पूरा हुन सकेको छैन ।

स्थानीय सरकारले गोरेटो बाटोलाई बढाएर मोटर चल्ने बाटो बनाए पनि यहाँका खोलामा रहेका काठे पुललाई भने अझै फेर्न नसकेको खप्तडछेडेदह गाउँपालिका–२ का स्थानीय कर्णबहादुर बुढाले बताए ।

उनले भने ‘बर्खाको समय खोलामा काठे पुल निर्माण गर्ने र त्यसैबाट लेक औल आउजाउ गर्ने गर्छौं । हरेक वर्ष पानीले काठको पुल कुहिन्छ । बर्सेनि पुल फेरिरहनु पर्छ ।’ यहाँका खोला हिउँदमा कम हुने भए पनि बर्खामा निकै उर्लने गर्छ । त्यस्ता खोलामा काठको पुलबाट तर्दा कतिपयले अकालमै ज्यान गुमाउँछन् ।

















