अत्तरिया – कैलालीकाे अत्तरियामा स्वास्थ्य सचेतना, विशेषज्ञ चिकित्सकीय संवाद तथा स्वास्थ्य परीक्षणलाई एकीकृत गर्दै ‘स्वास्थ्य युवा महोत्सव आयोजना हुने भएको छ। महोत्सव कार्तिक १३ देखि १८ गतेसम्म छ दिन सञ्चालन हुने छ।
समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना हुने महोत्सवमा युवा, विद्यार्थी तथा समुदायलाई स्वास्थ्य सँग जाेडिने नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लले बताए ।

बिहिवार अत्तरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले महोत्सवमा चिकित्सक, प्रोफेसर, अस्पताल, विद्यार्थी, युवा तथा समुदायलाई एउटै मञ्चमा ल्याएर स्वास्थ्यसम्बन्धी प्रत्यक्ष सवाल–जवाफ तथा अन्तरक्रिया गराइने बताए ।

‘विशेषगरी किशोर–किशोरी, युवा तथा १२ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुषलाई लक्षित गरी स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोग तथा जीवनशैलीसँग सम्बन्धित विषयमा विशेषज्ञसँग संवाद गराइने छ’ उनले भने ‘कार्यक्रमअन्तर्गत प्रारम्भिक चरणमा विशेषज्ञ चिकित्सकसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया गरिनेछ भने त्यसपछि स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सञ्चालन गरिनेछ। स्वास्थ्य परीक्षणका क्रममा प्रारम्भिक रोग पहिचान, चिकित्सकीय परामर्श, पोषणसम्बन्धी सुझाव तथा आवश्यक थप परीक्षणका लागि सिफारिस गरिनेछ।’
महोत्सवमा कक्षा ७ देखि माथिका विद्यार्थी, विद्यालय तथा कलेजका विद्यार्थी, युवा, महिला तथा पुरुष, बिरामी तथा समुदायका नागरिक, शिक्षक र सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहने जनाएको छ। आयोजकले छ दिनमा करिब १८ हजार युवा तथा समुदायका नागरिकलाई सहभागी गराउने लक्ष्य राखेको छ। उनले महोत्सवमा मुक्तकमैया शिविरलाई विशेष प्राथमिकता दिइने बताए ।
महोत्सवमा लागू औषध नियन्त्रणका विषयमा पनि सचेतनाका कार्यक्रम गरिने उनले बताए । उनले कार्यक्रमा रक्तदान, छाला दान, आँखा दानको लागि पनि उत्प्रेरण जगाइने बताए ।
महोत्सवको अवधारणालाई ‘डाक्टरसँग कुरा गरौँ, स्वास्थ्यबारे बुझौँ; समयमै जाँच गरौँ, रोगबाट बचौँ’ भन्ने नारासँग जोडिएको छ। महोत्सवमा प्रदेश तथा स्थानीय सरकार, सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज, विशेषज्ञ चिकित्सक तथा प्रोफेसर, विद्यालय तथा कलेज, स्वास्थ्यसम्बन्धी संघसंस्था, निजी क्षेत्र, सामाजिक संस्था तथा सञ्चारमाध्यमलाई समेत सहकार्यमा जोडिने बताइएको छ।
आयोजकले स्वास्थ्य, स्वस्थ युवा, उत्पादनशील जनशक्ति, व्यवसाय वृद्धि, रोजगारी र आर्थिक समृद्धिबीचको सम्बन्ध स्थापित गर्दै सुदूरपश्चिमको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरेको छ।

















