अत्तरिया – चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरण गर्न कैलालीमा प्रहरीले सुरक्षा निगरानी बढाएको छ । प्रहरीले सवारी जाँचसँगै तालिम प्राप्त कुकुर प्रयोग गरी यात्रु तथा सवारीसाधनको निगरानी समेत थालेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार चाडपर्वलाई लक्षित गर्दै कैलालीका विभिन्न स्थानमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेषगरी यात्रुको चाप बढ्ने समयमा सवारीसाधन जाँच, चालकको अवस्था परीक्षण र यात्रुको सुरक्षामा विशेष निगरानी राखिएको हो ।

सुरक्षा जाँचका क्रममा प्रहरीका तालिमप्राप्त कुकुर प्रयोग गरी शंकास्पद वस्तु तथा गतिविधिको निगरानी गरिने जनाइएको छ । यससँगै सवारी चालकको अनुमतिपत्र, आवश्यक कागजात, सवारीसाधनको अवस्था तथा चालकले मादक पदार्थ सेवन गरे–नगरेको समेत जाँच भइरहेको प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला लागुऔषध तथा अन्य अवैध गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा जाँचलाई थप प्रभावकारी बनाएको हो । तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि समेत निगरानी बढाइएको छ । प्रहरीले चालक तथा यात्रुलाई ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

















