दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाले आफ्नै बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह बडालले बुधवार गाउँपालिका बस सेवाको औपचारिक उद्घाटन गरेका छन् । स्थानीय नागरिकलाई सहज तथा सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले एउटा बस खरिद गरेर सेवा सञ्चालनमा ल्याएको जनाइएको छ ।

बस सेवा सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकलाई दैनिक आवतजावत तथा विभिन्न कामका लागि यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ । बस सेवा वडा नम्बर ५ को चल्लेगाडा देखि महाकाली नगरपालिका ४ रिङनताल सम्म सञ्चालन हुने जनाइएको छ । बसले सो रुटमा दैनिक २ पटक सेवा दिने गाउँपालिकाले जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार बस खरिद गरिएको बताए । उनले २ बस खरिदका लागि १ करोड विनियोजन गरिए पनि एउटै बस ५८ लाख पर्ने भएपछि एउटा मात्रै बस खरिद गरेर बाकी रकम अन्य काममा लगाइएको बताए ।

















