अत्तरिया – कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–३ कुसुमघाटबाट ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २६ वर्षीय विशाल विष्ट, वडा नम्बर २ का ३४ वर्षीय रामबहादुर शाही र वडा नम्बर ५ का २१ वर्षीय विज्ञान भण्डारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०११ प ६७१४ नम्बरको मोटरसाइकल शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो । त्यसपछि मोटरसाइकलमा सवार तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–७ मनेहरा रानागाउँबाट १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित २२ वर्षीय सुरेश राना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमबार बेलुकी शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

















