बैतडी – बैतडीमा दशैं–तिहारलाई लक्षित गर्दै १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको गोठलापानी, देहीमाण्डौं सतबाँझ, पाटन, खोडपे, पुर्चौडी, मेलौली, गोकुलेश्वर, रौलेश्वर, गाँजरी लगायतका विभिन्न स्थानामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने, यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोको सुनुवाइ गर्ने र आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराउने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक सिंहले बताए ।

यस्तै, सार्वजनिक स्थानमा हुन सक्ने चोरी, ठगी, झैझगडा तथा अन्य आपराधिक गतिविधिबाट सर्वसाधारणलाई सुरक्षित राख्न आवश्यक समन्वय र सहजीकरणका लागि यात्रु हायता कक्षबाट काम हुने प्रहरीले जनाएको छ । चाडपर्वका बेला हुने सवारी चाप तथा यात्रुको भीडलाई मध्यनजर गर्दै नागरिकलाई सहज र सुरक्षित यात्रा गराउन सहायता कक्ष प्रभावकारी हुने प्रहरीको अपेक्षा छ ।
चाडपर्वको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, चर्को भाडा असुल्ने लगायतका गलत प्रवृति हाबी हुन सक्ने भएकाले त्यस्ता क्रियाकलापहरु रोक्न यात्रु सहायता कक्षबाट काम हुने प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
















