बाजुरा – पहिरोका कारण करिब छ महिनादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक पुनः सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक मर्मत गरेपछि गत शनिबारदेखि यातायात सञ्चालनमा आएको हो । वर्षायाममा लगातार पानी परेका कारण मर्मतमा समस्या भए पनि मौसममा सुधार आएपछि सडक मर्मत गरिएको भौतिक पूर्वाधार विकास कार्यालय, अछामले जनाएको छ ।


सडक अवरुद्ध हुँदा लामो समयदेखि आउजाउमा समस्या भोग्दै आएका स्थानीय सडक खुलेपछि सहज भएको बताएका छन् । बुढीनन्दा नगरपालिकाका जिप चालक रामबहादुर कार्कीले जेठदेखि गाडी मार्तडीसम्म चल्न नसक्दा किस्ता तिर्नसमेत समस्या भएको बताए । सडक खुलेपछि अब केही सहज हुने आशा पलाएको उनले बताए ।
मार्तडी–कोल्टी सडक करिब ४२ किलोमिटर लामो छ । अहिले जिप सञ्चालनमा आए पनि ठूला बस भने अझै मार्तडीसम्म पुग्न सकेका छैनन् । बसका लागि सडक मर्मतको काम बाँकी रहेकाले दशैँपछि मात्र सञ्चालन हुने सम्भावना रहेको स्थानीयले बताएका छन् ।
जिपले मार्तडी–कोल्टी यात्रामा करिब एक हजार रुपैयाँ भाडा लिने गरेका छन् भने बसमा पाँच सय रुपैयाँ मात्र लाग्ने गरेको छ । बस सञ्चालनमा आए किसान तथा सर्वसाधारणलाई थप सहज हुने स्थानीयको भनाइ छ ।
मार्तडी–कोल्टी सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ तथा दशैँ–तिहारका लागि आवश्यक दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत सहज हुने जिल्ला प्रशासन कार्यालय, बाजुराले जनाएको छ ।















