धनगढी – बाजुराको सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वी–उत्तरी क्षेत्र हुँदै कर्णाली प्रदेशका हुम्ला र मुगुसँग जोड्ने मार्तडी–कोल्टी सडक २५ वर्षमा नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ । मार्तडदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर रहेको यो सडक सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले तोकिएको समयमा काम पूरा गर्न नसक्दा समस्या लम्बिएको हो । चुथीदेखि ढम्केनेसम्मको करिब पाँच किलोमिटर सडक निर्माणको जिम्मा बानियाँ–कुशेश्वर जेभीले पाएको छ । त्यस्तै, ढम्केनेदेखि दानसाँघु खोलासम्मको २६ किलोमिटर सडक पीएस बानियाँ निर्माण सेवा जेभीको जिम्मामा छ ।
निर्माणमा भइरहेको ढिलाइले स्थानीयको आवतजावत मात्र प्रभावित भएको छैन, सडकसँग जोडिएका दैनिक उपभोग्य वस्तुको ढुवानी र व्यापारसमेत महँगिएको छ । पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार चुथीदेखि कोल्टीसम्मको सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६÷७७ मा करिब ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र काम सकिनुपर्ने थियो ।


सम्झौताको अवधि सकिएपछि पनि सडक पूर्ण रूपमा निर्माण हुन सकेको छैन । कार्यालयका अनुसार पटक–पटक म्याद थप्दा पनि पीएस बानियाँ निर्माण सेवा जेभीले काम सम्पन्न गर्न सकेको छैन । हालसम्म सडकको करिब ५० प्रतिशत मात्रै काम भएको कार्यालयको भनाइ छ । निर्माण कम्पनीलाई पटक–पटक ताकेता र स्पष्टीकरण समेत सोधिएको थापाले बताए । कार्यालयले कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्ने तयारीसमेत अघि बढाएको छ ।
उनका अनुसार निर्माण व्यवसायीसँग काम ढिलाइ हुनुको कारणबारे स्पष्टीकरण मागिएको छ । प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनी प्रक्रियाअनुसार अघि बढ्ने तयारी कार्यालयको छ ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि निर्माणमा ढिलाइ गर्ने कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार ठेक्का तोडेर नयाँ कम्पनीलाई जिम्मा दिनुभन्दा पुरानै निर्माण व्यवसायीबाट काम पूरा गराउने प्रयास भइरहेको छ ।
२०५६ सालमा शिलान्यास गरी निर्माण थालिएको यो सडकमा तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत खाद्यान्न कार्यक्रम (आरसीआईडब्ल्यू) मार्फत २०५६ देखि २०६२ सालसम्म ४२ किलोमिटर सडक निर्माणमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । त्यसपछि संघीय र प्रदेश सरकारले समेत सडकमा ठूलो लगानी गर्दै आएका छन् । तर लामो समयदेखि सडक कालोपत्रेको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

















