कञ्चनपुर – कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव घटेको छ । गड्डाचौकीसँग सीमामा जोडिएको भारतको बनबासा स्थित शारदा ब्यारेजमा गरिएको मापनमा पानीको बहाव घटेर ९८ हजार २७२ क्युसेक पुगेको हो ।

पानीको बहाव १ लाख क्युसेक मुनी पुगेपछि नेपाल भारत सीमा जोड्ने बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवत जावत सुचारु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान ११ बजे गरिएको मापनमा ९८ हजार २७२ क्युसेक मापन गरिएको छ ।

महाकालीको बहाव शनिवार साँझ ७ बजेसम्म तीव्र रूपमा बढेर १ लाख २ हजार ४ सय ४८ क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो । महाकालीमा आइतबार बिहान १० बजे पानीको बहाव बढेर १ लाख ७५ हजार ७ सय १६ क्युसेक पुगेको थियो ।
सोमबार बिहान पनि महाकाली नदीमा पानीको बहाव १ लाख ९ हजार १४४ क्युसेक रहेको थियो । बिहान ११ बजे गरिएको मापनमा १ लाख क्युसेक मुनी पुगेपछि सवारी साधन सुचारु भएको हो ।

















