बेलौरी – कञ्चनपुरको बेलौरीमा सम्पर्कविहीन एक पुरुषको शव फेला परेको छ । हिजाे शनिवार रातिदेखि परिवारको सम्पर्कमा नरहेका बेलौरी नगरपालिका – ६ का ३९ वर्षीय महेश केसीको शव फेला परेको हो ।

सम्पर्क विहीन भएपछि महेश आफन्तले घरबाट १ सय मिटर पश्चिमतर्फ रहेको भङ्गी नालामा डुबेको आशङ्कामा प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्याटर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीता कुमारी चौधरीको कमान्डमा ११ जना, ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायब निरीक्षक टेक बहादुर विष्टको कमान्डमा ११ जना र स्थानीयको संयुक्त टोलीले खोजी गरेको थियो ।
सो क्रममा आज आइतबार दिउँसो १२ः१५ बजे समयमा भङ्गी नालाको कल्भर्टबाट ५० मिटर दक्षिणतर्फ शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । शव फेला पारी पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीमा पठाइएको छ ।


















