खाेज्नुहाेस

कञ्चनपुरमा जंगली हात्तीको आतंक

Image
file photo

कञ्चनपुर – कञ्चनपुरमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । बेदकोट नगरपालिका–१, हात्तीथलामा पछिल्लो एक महिनामा हात्तीको बथानले आठ वटा घरमा क्षति पुगाइसकेको छ भने पाक्न लागेको धानबालीमा समेत नोक्सानी पु¥याइरहेको छ ।

स्थानीय पुनम शाहले २३ वटा हात्तीको बथान बस्तीमा प्रवेश गरेको बताइन् । ‘हात्तीले घर घेरेपछि ज्यान जोगाउनै मुस्किल भयो । हामी त भाग्यले बाँचेका हौं,’ शाह भन्छिन् । बेदकोट–१ का भोज नाथले घरमा अपाङ्गता भएकी वृद्ध आमा रहेकाले रातको समयमा हात्तीको त्रास झन् बढी हुने गरेको बताए । ‘हात्ती धपाउन बाहिर निस्कने कि आमाको सुरक्षा गर्ने ? हात्ती आएपछि घरका सबै सदस्य त्रसित हुन्छौं,’ उनले भने, ‘रातभर जाग्राम बस्नुपर्दा स्वास्थ्यमा समेत असर परेको छ ।’

attariya hospital

स्थानीयका अनुसार, केही समयअघिसम्म टर्चको उज्यालो वा मानिसको होहल्लाबाट हात्ती जंगलतर्फ फर्कने गर्थे । अहिले भने त्यस्ता उपायले काम गर्न छाडेका छ । कतिपय अवस्थामा उज्ज्यालो र मानिसको गतिविधितर्फ नै हात्ती आउन थालेपछि स्थानीय थप जोखिममा परेका छन् । कृष्णपुर नगरपालिका–१, डोमिल्लामा पनि रातको समयमा हात्ती बस्ती पस्ने गरेको स्थानीय बताउँछन् । खेतको बाली नष्ट हुन थालेपछि किसानहरू साँझदेखि नै सतर्क हुनुपर्ने अवस्था छ ।

navjiwan hospital

पुनर्वास नगरपालिका–९ र १० का बासिन्दाले पनि लामो समयदेखि हात्तीको समस्या झेल्दै आएका छन् । घरमा क्षति पु¥याउने र अन्नबाली नष्ट गर्ने क्रम नरोकिएपछि कतिपय स्थानीय बसाइँ सर्ने अवस्थाबारे समेत सोच्न थालेका छन् ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । बस्ती आसपास लामो समयसम्म रहने हात्तीले धान, उखु र केरालगायतका बालीमा क्षति पु¥याउँदै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको व्यवस्थापन योजनाले पनि मानव–हात्ती द्वन्द्वलाई निकुञ्ज क्षेत्रको प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ । योजनामा हात्तीका कारण खाद्यान्न बाली, घरगोठ र मानिसमा समेत क्षति हुने गरेको तथ्य समेटिएको छ ।

हात्तीको परम्परागत आवागमन मार्ग र मानव बस्तीबीचको दूरी घट्दै जाँदा द्वन्द्वको जोखिम बढेको देखिन्छ । कञ्चनपुरमा हात्तीको समस्या नयाँ भने होइन । विगतदेखि नै निकुञ्ज तथा वन क्षेत्र आसपासका बस्तीमा हात्तीले बाली र घरमा क्षति पु¥याउँदै आएका छन् । हात्ती बस्ती प्रवेश गरेपछि स्थानीयहरू समूह बनाएर त्यसलाई जंगलतर्फ फर्काउने प्रयास गर्छन् । टर्च बाल्ने, थाल बजाउने, होहल्ला गर्ने तथा अन्य स्थानीय उपाय प्रयोग गरिन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, विगतमा हात्ती धपाउन थाल ठटाउने, होहल्ला गर्ने तथा पटका पड्काउने जस्ता उपाय अपनाइन्थ्यो । तर पटक–पटक एउटै विधि प्रयोग गरिँदा हात्ती त्यसमा अभ्यस्त हुन थालेका छन् । ‘पहिले थाल ठटाउने, होहल्ला गर्ने लगायतका उपायले हात्ती भाग्थे । तर अहिले हात्ती त्यस्ता गतिविधिमा बानी परिसकेकाले भाग्नुको सट्टा उल्टै फर्किने जोखिम हुन्छ ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीका अनुसार, हात्तीले पुस्तौंदेखि प्रयोग गर्दै आएको परम्परागत बाटो पछ्याउने गर्छ । तर ती बाटो आसपास पछिल्लो समय घर, गाउँ तथा बस्ती विस्तार भएकाले हात्ती मानव बस्तीमा प्रवेश गर्ने अवस्था सिर्जना भएको हो । जोशी भन्छन्, ‘हात्तीले आफ्नो परम्परागत बाटो प्रयोग गर्छ । तर अहिले ती क्षेत्रमा घर–गाउँ तथा बस्ती विस्तार भइसकेकाले हात्ती बस्ती पस्ने गरेको देखिन्छ ।’