कञ्चनपुर – लगातार दुई दिनदेखि वर्षा भएपछि बाढी पहिरोको जोखिम बढेपछि कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ झर्का टोलका पाँच परिवारलाई विद्यालयमा सारिएको छ । बाढीले जगबुडा नदीको जोखिममा उनीहरुलाई सरसामानसहित जनज्योति माध्यमिक विद्यालयमा सारिएको हो ।

यसअघि दोधारा–चाँदनी–३ पटेराखल्लाका १४ परिवार पनि जमुना आधारभूत विद्यालयमा सरेका थिए । दोधारा–चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बूले उच्च जोखिममा रहेका परिवारलाई पालिकाबाटै खानपिनको व्यवस्था गरिएको बताए ।

दोधारा–चाँदनीमा जगबुडा र महाकाली नदीका कारण डुबान तथा कटानको जोखिम रहँदै आएको छ । विगतमा परेको भारी वर्षाका कारण जिल्लाका महाकाली, जगबुडा, चौधर, सुनबरा, दोदा, भुजेला, झरनाखोला, अनखोला लगायत स–साना नदीखोलामा डुबान, कटान र पटान हुँदै आएको छ । सम्भावित जोखिम सामना गर्न कञ्चनपुरका सरोकारवाला निकाय तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

















