अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिकाले असोज ८ गतेदेखि ११ गतेसम्म सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । मोहन्याल गाउँपालिकाको भौगोलिक बनावट पहाडी तथा चुरे क्षेत्र भएकाले वर्षाका कारण पहिरो जाने, भू–क्षय हुने, खोला–नालामा बहाव बढ्ने तथा ग्रामीण सडक अवरुद्ध हुनसक्ने जोखिम रहेको सूचनामा उल्लेख छ ।

गाउँपालिकाले पहिरोको जोखिममा रहेका बस्ती, भिरपाखा तथा उर्लदो खोला–नालाको आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । भारी वर्षाका कारण ग्रामीण सडक हिलो र चिप्लो भई पहिरो जाने खतरा हुने भएकाले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै, किसानलाई धान तथा अन्य बाली कटानी÷मिसाउने कार्य सम्भव भएसम्म स्थगित गरी मौसममा सुधार आएपछि मात्र गर्न आग्रह गरिएको छ । मेघगर्जन तथा चट्याङ परेको समयमा खुला ठाउँ, रुखमुनि वा धातुका संरचनाको आसपास नबस्न गाउँपालिकाले सचेत गराएको छ ।
गाउँपालिकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा कुनै जोखिम वा घटना भएमा तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाद्वारा जारीसूचनामा सम्भावित विपद्बाट सुरक्षित रहन सबै गाउँपालिकावासीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

















