खाेज्नुहाेस

दार्चुलामा बस्ती पुनस्र्थापनाका लागि मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन

Image

दार्चुला – जमिन धसिँदा दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्ती विस्थापित भएपछि बस्ती पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन बुझाइएको छ । जमिन निरन्तर धसिँदै गएपछि मडगाउँस्थित खर्क बस्ती पूरै विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए । २५ परिवार रहेको बस्ती विस्थापित भएपछि बस्ती पुनस्र्थापनाको माग गर्दै मुख्यमन्त्री भट्टलाई गाउँपालिका र स्थानीयको तर्फबाट ज्ञापन बुझाइएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए ।

उनले भने ‘बस्तीका सबै जसो घर चर्किएपछि खर्क बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । मुख्यमन्त्री भट्टलाई बस्तीको सुरक्षा जोखिम न्यूनीकरण गर्न र जमिन तथा बस्ती संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन ज्ञापनपत्र बुझाएको छ ।’

attariya hospital
navjiwan hospital

जमिन भासिएको क्षेत्रमा तत्काल प्राविधिक र भौगर्भिक अध्ययन गराई जोखिमको अवस्था पहिचान गर्न र प्रभावित परिवारको क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनस्र्थापनाको व्यवस्था गर्न माग गरेको उनको भनाइ छ ।

अध्यक्ष धामीका अनुसार अहिले पनि जमिन धसिने क्रम रोकिएको छैन । खर्क बस्तीका १८ वटा घर पूर्ण रूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन् । बस्तीका मानिसलाई सुरक्षित स्थानमा राखेर तत्कालका लागि गाउँपालिकाले टेन्टको व्यवस्था गरेको छ । दुई–तीन वटा घरबाट अन्नपातसमेत निकाल्न नसकिएकाले परिवारमा खाद्यान्नको समस्या सिर्जना भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सुरक्षित बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत जानकारी गराइसकिएको बताए । गाउँपालिकाले क्षतिको विवरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलन थालेको छ ।

सम्बन्धीत समाचारजमिन धसिएपछि दार्चुलाको मडगाउँको खर्कबस्ती विस्थापित