अत्तरिया – कैलालीमा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामानसहित तीन जना महिला पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२, फनपार्क नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख ९७ हजार ३ सय ५० रुपैयाँ बराबरका सामानसहित तीन जना महिला पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार राति सामानसहित धनगढी उपमहानगरपालिका–३ बस्ने ३७ वर्षीया लक्ष्मी स्याडा, ३५ वर्षीया धनि देवी सार्की र गोदावरी नगरपालिका–२ बस्ने २७ वर्षीया यसोदा भट्टलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूबाट बिडी, सुर्ती, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लास्टिक झिल्ली लगायतका सामान फेला परेका थिए। आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा बेवारिसे सामान बरामद
यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, वनदेवी जंगल नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ४८ हजार ३ सय ५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद सामानमा बिडी, सुर्ती, प्लास्टिक झिल्ली लगायतका वस्तु रहेका छन्।

















